×

वीरगञ्ज, ९ साउन । वीरगञ्जका चिकित्सकहरुले एनी हाउ पैँसा कमाउ भन्ने नीति लिएपछि ल्याबहरुले मान्छे मार्ने रिपोर्ट दिन थालेका छन् । एउटै व्यक्तिको दुई ठाउँमा गरिएको रगत र पिसावको परीक्षणमा फरक फरक नतिजा आएको रिपोर्ट यात्राडेलीलाई प्राप्त भएपछि ल्याबहरुको पोल खुलेको हो । वीरगञ्जको अलखिया मठस्थित हरिखेतान क्याम्पसको विपरित दिशातर्फ रहेको वीरगञ्ज डाइग्नोस्टिक सेन्टर र लाल प्याथोलोजीमा गरिएको परीक्षणको रिपोर्ट फरक फरक आएको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी निवासी ५६ वर्षीय सुष्मा देवीले स्वास्थ्यमा समस्या देखिएपछि रगत र पिसावको परीक्षण गराएकी थिईन् । वीरगञ्ज डाइग्नोस्टिक सेन्टरमा दिइएको रगत र पिसावको नमुना लाल प्याथोलोजीमा पनि परीक्षण गरिएकोमा दुवै ल्याबको रिपोर्टमा आकाश जमिनको फरक देखिएको देवीले बताईन् । शुरुमा वीरगञ्ज डाइग्नोस्टिक सेन्टरको रिपोर्टलाई आधार मानेर औषधी सेवन गरीरहेकी देवी अहिले लाल प्याथोलोजीको रिपोर्ट फरक आएपछि आश्चर्यचकित भएकी छिन् । 

उनले भनिन्, ‘शुरुको रिपोर्ट देखाएर औषधी लिएर आए, त्यही खाईराखेकी छु । तर अहिले अर्काे रिपोर्टमा फरक आयो । अब औषधी पनि फरक लाग्छ । कसको रिपोर्टको विश्वास गर्नु । यसरी फरक औषधी खाँदा झन स्वास्थ्य समस्या देखिए त्यसको जिम्मेवार को ?’ वीरगञ्ज डाइग्नोस्टिक सेन्टरको रिपोर्टअनुसार एल्बुमिन पोजेटिभ देखिएको छ भने लाल प्याथोलोजी रिपोर्टमा प्रोटिन नेगेटिभ देखाएको छ । 

यसैगरी वीरगञ्ज डाइग्नोस्टिक सेन्टरमा गरिएको परीक्षणमा पस सेल ४–६ एचपिएफ छ भने लाल प्याथोलोजीले २–३ एचपिएफ देखाएको छ । यस्तै इपिथेलियल सेल्स भने वीरगञ्ज डाइग्नोस्टिक सेन्टरले ६–८ एचपिएफ देखाएको छ भने लाल प्याथोलोजीको रिपोर्टमा ०–१ एचपिएफ देखाएको छ । 

लाल प्याथोलोजीमा ४ हजार ६ सय ५० रुपैयाँ र वीरगञ्ज डाइग्नोस्टिक सेन्टरमा १ सय ५० रुपैया र रगतको परक्षिणमा २ सय गरी जम्मा ५ हजार रुपैयाँ खर्च भएको सुष्मा देवीको भनाई छ । फरक रिपोर्ट आएपछि असन्तुष्टि व्यक्त गरेकी देवीले आफ्नो  परीक्षणमा लागेको खर्च दिनु म अन्तै परीक्षण गर्छु भन्दा पनि उल्टै आलटाल गर्नुका साथै गैरजिम्मेवार अभिव्यक्ति दिएको देवीको गुनासो छ । 

यसैगरी असार ७ गते वीरगञ्जस्थित एम्पल रेडियो डाइग्नोस्टिक सेन्टरमा पत्थरीको परीक्षण गर्दा पनि दायाँ किड्नीमा १०.० सेन्टिमिटर र बायाँ किड्नीमा १०.३ सेन्टिमिटर देखाएको थियो भने मेडिस्क्यानमा गरिएको परीक्षणमा फरक देखिएको छ । त्यसमा दायाँ मृगौलामा ९८.५ मिलिमिटर र बाँया मृगौलामा १०९.८ मिलिमिटर देखिएको छ । जुन मिलिमिटरलाई सेन्टिमिटरमा परिणत गर्दा पनि केही फरक हुन जान्छ । 

प्रायः ल्याबवालाहरुसँग चिकित्सकहरुको मिलेमतो हुने र आफ्नो ल्याबमा पठाईदिएबापत वीरगञ्जका चिकित्सकले ५० देखि ६० प्रतिशतसम्म कमिशन लिने गरेको कारण पनि ल्याबहरुले गलत रिपोर्ट दिएको स्रोतले जनाएको छ । 

ल्याब जस्तो संवेदनशिल क्षेत्रबाटै हुने यस्ता लापरवाहीले बिरामी मृत्युको मुखमा समेत पुग्न सक्ने भएकाले यस्ता निकायहरुको अनुगमन र नियमन गर्नुपर्ने माग पनि उठेको छ । विगतमा पनि ल्याबहरुका कमिकमजोरीहरु पटक पटक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आइहेको अवस्थालाई मध्यनजर गर्दै सबै ल्याबको मूल्यमा एकरुपता ल्याउन र सोही बमोजिक कार्यन्वयन गर्नुपर्ने आवश्यक्ता देखिएको छ । 


 

Back to top