×

वीरगञ्ज, ६ साउन ।  छिमेकी मुलुक भारतमा गत एक वर्षको अवधिमा खानेतेलको निर्यात साढे तीन गुणाले वृद्धि भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा फ्याटी एसिड तेल, भटमासको तेल, सूर्यमुखीको तेलसहित रु.३८ अर्ब ६ करोड रुपैयाँ बराबरको खानेतेल निकासी भएको छ । अघिल्लो आर्थिक वर्ष ७६/७७ मा ८ अर्ब २४ करोड मूल्य बराबरको मात्र निकासी भएको थियो ।

वीरगञ्ज नाकाबाट हुने भटमासको तेलको निर्यात ३६ अर्ब ५ करोड रुपैयाँ मूल्य बराबरको भएको छ । भटमासको तेल १ लाख ९७ हजार टन निर्यात भएको हो । अघिल्लो आवमा जम्मा ६१ हजार टन भटमासको तेल निर्यात भएको थियो ।

वीरगञ्ज नाकाबाट खानेतेल उद्योगले गत आवमा ३५ अर्ब ३३ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेलको आयात गरेका थिए ।  ३ लाख ६ हजार मेट्रिक टन भटमासको कच्चा तेल आयात भएको थियो । त्यसैगरी गत आवमा सूर्यमुखी तेलको निर्यात १० हजार ८ सय ६७ टन भएको छ । अघिल्लो  आवमा ४ सय २० टन मात्र निकासी भएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको सूर्यमुखी तेल यहाँका उद्योगले निर्यात गरेका छन् । गत आवमा स्वदेशी उद्योगले ५० हजार टन सूर्यमुखीको कच्चा तेल आयात गरेका थिए । फ्याटी एसिड तेलको निकासी ७७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा २१ करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको फ्याटी एसिड तेलको निर्यात गरिएको छ ।

भारतले गत आर्थिक वर्षको अन्त्यसम्म पनि पाम आयलको आयातमा रोक लगाएको कारण नेपालबाट हुने निर्यात ठप्प भएको थियो । स्वदेशी माग पुरा गर्नको लागि मात्र ५ अर्ब ३५ करोड रुपैयाँको खजुरको कच्चा तेल(पाम आयल) ५९ हजार ९ सय ४६ टन भित्र्याइएको छ । यो परिमाण अघिल्लो आवको तुलनामा ६२ प्रतिशत कम हो । अघिल्लो आवमा १२ अर्ब २३ करोडको पाम आयल आयात गरिएको थियो ।

नेपाली उद्योगले साफ्टा सम्झौता अन्तर्गत शुन्य भन्सार दरमा खानेतेलको निकासी गर्ने सुविधा उपभोग गरिरहेकाले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सहज छ । फ्याटी एसिड तेल अन्य खानेतेलमा बोसोको मात्रा मिलाउन वा छालासम्बन्धी उपचारको लागि प्रयोग हुन्छ ।

भटमास, सूर्य मुखी, नरिवल लगायतको तेल प्रशोधन गर्दा निस्किने बोसोको मात्रा उच्च भएको तेललाई फ्याटी एसिड तेल भनिन्छ । यो प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित तीनै प्रकारको हुन्छ ।
 

Back to top