×

फाइल तस्बिर

६ सावन । हिन्दू महिलाहरुका लागि साउन महीना निकै पवित्र र विशेष मानिन्छ । भगवान शिवको प्रिय महीनाको रुपमा पनि साउनलाई लिइन्छ । राम्रो पति पाउँ भन्नका लागि अविवाहित र पतिको दीर्घायुको कामना गर्दै विवाहितहरु व्रत वस्ने गर्छन् ।

साउन महिना सुरु भएसँगै महिलाहरु सोमबारको व्रत बस्ने, हरियो पहिरन लगाउने, हातमा मेहेन्दी लगाउने गर्दछन् । युवतीहरुलाई हत्केलामा भरिएको गाढा रङको मेहेन्दीले धेरै सुन्दर र आकर्षक देखिन्छ । मेहेन्दी हेर्दा जति आकर्षक देखिएपनि यसको बेफाइदाहरु पनि छन् । बजारमा पाइने केमिकलयुक्त मेहन्दी लगाउँदा सचेत हुनुपर्ने कुराहरु छन् । चिकित्सकले गाढा मेहेन्दी लगाउँदा यसको साइड-इफेक्टलाई लिएर सचेत हुनुपर्ने बताउँछन् । खासगरि, छालाको एलर्जी हुनेजस्ता असर देखिन सक्ने भन्दै उनीहरुले मेहेन्दी लगाउने बेला ख्याल गर्न समेत आग्रह गरेका छन् । मेहन्दीले कसरी असर पार्छ त ?


मेहन्दीमा प्रयोग हुने रसायनले हत्केलाको छालामा एलर्जी हुनुका शरीरका भित्री अंगहरुमा समेत असर पर्न सक्छ । छाला रोग विषेशज्ञ डा। धर्मेन्द्र कर्णका अनुसार प्राकृतिक रुपमा बनस्पतीबाट बनाइएको र कृत्रिम रुपमा बनाइने गरी मेहन्दी दुई किसिमका हुन्छन् । प्राकृतिक रुपमा बनाइने मेहन्दीको रङ रातो र खैरो हुन्छ । प्राकृतिक रुपमा बनाइएको मेहन्दीले छाला वा स्वास्थ्यमा खासै असर गर्दैन ।

कृत्रिम रुपमा बनाइएको मेहन्दीलाई बजारमा लैजान उत्पादक कम्पनीहरुले प्राकृतिक मेहन्दीकै नाम दिएका हुनसक्छन् । तर, त्यो मेहन्दी प्राकृतिक रुपमा भन्दा पनि केमिकल मिसाएर बनाइएको हुन्छ । बजारमा पाइने मेहन्दीमा केमिकल मिसाइएको हुन्छ त्यसले असर पर्छ । बजार पाइने कृत्रिम मेहन्दीमा पारा-फेनाइलेनेदायमाइन नामक रसायन मिसाइएको हुन्छ । जसले मेहन्दीको रङ गाढा बनाइदिन्छ । यस्तो रसयान मिसाइएका मेहन्दी लगाउँदा छालाको भित्री भागसम्म पुगेर लामो समयसम्म हातमा रङ बस्न सक्छ ।

कस्मेटिक सामाग्रीको गुणस्तर जाँच गर्ने निकाय नेपालमा नभएकाले बजारमा पाइने मेहन्दी लगाउँदा स्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पर्न सक्ने डा। कर्ण बताउँछन् ।

रसायन मिसिएको मेहन्दी लगाउँदा कस्तो असर पार्छ : छालामा एलर्जी हुने, हात चिलाउने, सुन्निने तथा फोका उठ्ने, घाउ खटिरा आउने, पानी तथा पिप आउने , झमझमाउने

कर्णका अनुसार यस्तो समस्या मेहन्दी लगाउने वित्तिकै तथा मेहन्दी लगाएपछि एकसाता वा १० दिनसम्ममा पनि देखिन सक्छ । मेहन्दी लगाउँदा केमिकलको असरले हुने एलर्जी खतरनाक हुन्छ ।

केमिकलयुक्त मेहन्दीको निरन्तर प्रयोगले हुने असर : केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकल मिर्गौलामा पुग्न सक्छ । जसले गर्दा मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम पनि बढ्छ ।

मेहन्दी जति गाढा उती हानिकारक : महिलाले मेहन्दी जति गाढा भयो त्यति नै बढी माया गर्ने पति पाइने विस्वास राखिन्छ । त्यसैले हरेक महिलाहरु आफ्नो हातमा मेहन्दीको रङ गाढा होस् भन्ने चाहन्छन् । तर स्वास्थ्यका हिसाबले हेर्ने हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यति नै हानिकारक छ र हुन्छ ।

मेहन्दीको रङ गाढा भएको होइन, मेहन्दीमा केमिकल मिसाएर गाढा बनाइएको हो, बढी गाढा देखिएका मेहन्दीमा पारा-फेनाइलेनेदायमाइन तथा मट्टितेल तथा पेट्रोलको समेत प्रयोग भएको हुन्छ । यस्तो केमिकलले रङ छालाको भित्रसम्म पुग्छ र मेहन्दी गाढा हुन्छ, तर यसले छालालाई असर गर्छ ।

‘मेहन्दीको एलर्जी छ वा छैन भनेर परीक्षण गर्न सकिन्छ, त्यसको लागि मेहन्दीको थोरै मात्रा घाटी, काँखी वा शरीरको कुनै भागमा लगाएर २४ घण्टा राख्ने यस्तो गर्दा यदी चिलाएन, पोलेन वा कुनै समस्या देखिएन भने तपाईलाई एलर्जी नहुनसक्छ । परीक्षण गरेर गर्दा एलर्जीको समस्या भएमा भने त्यस्तो मेहन्दी लगाउन नहुने डा. कर्णको भनाइ छ । – नेपाल प्रेस

Back to top