×

वीरगञ्ज १२ असार । निर्माण सामाग्रीको वितरणमा संलग्न सिंहेश्वर समूहको लगानीमा पूर्व पश्चिम राजमार्गको बर्दिबासमा विद्युत पोल र रेडिमिक्स कंक्रिट उत्पादन उद्योग शुरु गर्ने भएको छ ।

दैनिक २५० थान विद्युत पोल निर्माण क्षमताको मेशिन उपकरण  जडान गर्न लागिएको समूहका निर्देशक विपिन साहले जानकारी दिए ।

बर्दिबास नगरपालिका वडा नं ६ किसन नगरस्थित आफ्नै क्रसर उद्योग परिसरमा पोल उद्योग र माँ जगदम्बा कंक्रिट मिक्सर उद्योग संचालनमा ल्याउन लागिएको हो ।

प्रदेश १ को इटहरीदेखि प्रदेश २ को पथलैयासम्मको क्षेत्र समेट्ने गरी बर्दिबास रोजाईमा परेको हो । ट्रान्जिट मिक्सर (पारवहन मिश्रक) मा लोड गरिएको कंक्रिट ४ देखि ५ घण्टाभित्र प्रयोगमा ल्याइ सक्नुपर्ने भएकोले ढुवानीमा लाग्ने समयको दृष्टिकोणले बर्दिबास उपयुक्त रहेको छ ।

पछिल्लो समयमा पूर्वाधार निर्माण क्षेत्रमा जनशक्तिको अभावको कारण रेडिमिक्स कंक्रिटको माग बढ्दै गएको छ । निर्देशक साहले भने, यहाँको रेडिमिक्स उद्योगलाई माग धान्न भ्याई नभ्याई छ । विशेषगरी पुल, गोदाम, विद्युत सब स्टेशन निर्माणमा रेडिमिक्स कंक्रिटको उल्लेख्य प्रयोग भइरहेको छ । 

पोल उद्योगमा ५ करोड र कंक्रिट मिक्सर उद्योगमा ८ करोड रुपैयाँ लगानी हुने निर्देशक साहले जानकारी दिए। ६ मिनेटमा एउटा ट्रान्जिट मिक्सरमा सात घन मिटर कंक्रिट सम्मिश्रण तयार हुन्छ । हाल सिमेन्ट, बालुवा र गिट्टीको सम्मिश्रण तयार पारेर मिक्सरमा लोड गर्ने दुईवटा पम्प र ढुवानीको लागि ३ वटा ट्रान्जिट मिक्सर भारतबाट आयात गरिएको उद्योगीले जानकारी दिएका छन् ।

प्रदेश २ को राजधानी जनकपुरधाम नजिकै रहेको बर्दिबासमा जनकपुरको तुलनामा पूर्व पश्चिम राजमार्गबाट सहज आवागमनको प्रदेशको लागि  वितरण केन्द्र बनाएर उद्योग र व्यापारमा लगानी गर्ने क्रम बढेको छ ।
 

Back to top