×

वीरगञ्ज, ७ असार ।  सोमवार विश्व योग दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको २१ तारिखमा मनाइने यो दिवस सन् २०१४ बाट नेपालमा मनाउन सुरु गरिएको हो । 

सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्व दिन्छ । 

आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् । 

गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरु विभिन्न दर्शन केन्द्रीत महात्माहरूले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका थिए । यसैबीच सरकारले योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मुख्य समारोह समिति गठन गरेको छ । 

कोरोना भाइरसको सङ्क्रमणका कारणका समितिले आज दिवस भर्चुअल माध्यमबाट मनाउँदैछ । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण स्वास्थ्यका मापदण्ड अपनाएर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।
 

Back to top