×

६ असार । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले साउनदेखि छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेकाे सुरूकाे एक वर्ष अवधिका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्न लागेको हो ।

यसअघि जेठदेखि नै यस्तो कार्ड जारी गर्ने तयारी भएपनि कोरोना महामारीका कारण दुई महिना पछि धेकेलिएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले क्यूआर कोडसहितको छुट्टै पीभीसी कार्ड ल्याउन लागेको जानकारी दिँदै यसलाई एक वर्षको परीक्षण अवधिका उपयोग गर्न सकिने बताए ।

उनका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

ट्राफिकले क्युआर कोडका आधारमा चालककाे लाइसेन्स जाँच गर्ने बताउँदै उनले भने, ‘कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन्।’

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

याेसँगै विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्नेछ । ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गरिनेछ ।

उनले भने, ‘पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ ।’ प्रहरीले बार कोड स्क्यान गर्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् ।

त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्म यस्ताे कार्ड वितरण गरिनेछ ।

स्मार्ट कार्डमा चिप्सको प्रयोग भएका कारण परीक्षणकालीन भनेर दिन नमिलेको महानिर्देशक घिमिरेले बताए । ती कार्ड काठमाडौँसहित मुलुकभरिका १९ वटा यातायात व्यवस्था विभागको कार्यालयबाट वितरण गरिने छ । साभार टेकपाना बाट 

Back to top