×

वीरगञ्ज, २८ जेठ । पर्सा जिल्लाका विद्यार्थी संगठनहरुको भेलाले सयुँक्त विद्यार्थी संघर्ष समिति गठन गरेको छ । अनेरास्ववियुका केन्द्रिय सदस्य हेमन्त तामाङ्को अध्यक्षतामा बसेको सयुँक्त विद्यार्थी संगठनहरुको बैठकले नेविसंघ पर्साका अध्यक्ष विकास तिवारीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको शैक्षिक क्षेत्रलाई चलायनमान बनाउनुका साथै विद्यार्थीहरुको हक हित तथा अधिकारको लागि फरक फरक पार्टी र विचारसँग आस्था राख्ने विद्यार्थी संगठन पनि एकबद्ध भएर लाग्ने सन्देश प्रवाह गर्ने अभिप्रायले संघर्ष समिति गठन गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य तामाङ्ले बताए ।

संघर्ष समितिको सहसंयोजकमा कविराज पटेल, सदस्यहरुमा समाजवादी विद्यार्थी फोरम ठाकुराम बहुमुखी क्याम्पस ईकाई कमिटिका उपाध्यक्ष शशीकान्त सर्राफ, रेयाज अंसारी, मनोज साह, शेष हजरा, अनिल पटेल, हरिन्द्र साह लगायत रहेका छन् ।

त्यसैगरी बैठकले समाजवादी विद्यार्थी फोरमका सुजित गिरीको संयोजकत्वमा १५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । समितिको सदस्यमा जुबेर आलम, हेमन्त तामाङ्, इश्क कुमार, शिबम शाह, दिलिप कार्की, राकेश यादव, निखिल वर्णवाल, प्रभाकर गुप्ता, शिवजी गुप्ता लगायत रहेका छन् ।

वीरगञ्जस्थित ठाकुराम बहुमुखी क्याम्पसको सभाहलमा बसेको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पाटी निकट विद्यार्थी संगठनका जिल्ला प्रमुख एवम् प्रतिनिधिका साथै पूर्व विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । 
 

Back to top