×

२४ जेठ । नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणका लागि आवश्यक कार्ययोजना नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । उक्त कार्ययोजनामा टेलिकमले आवश्यक सहजीकरण भएको खण्डमा आउँदो पुस महिनाभित्र नेपालमा फाइभजी परीक्षण गर्ने उल्लेख गरेकाे छ ।

अघिल्लो साता विस्तृत कार्ययोजनासहित फाइभजी परीक्षणका लागि टेलिकमले नियामकसामु प्रस्ताव पेस गरेको हो । प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले साे कार्ययाेजनामा फाइभजी परीक्षणकाे अनुमतिसँगै आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउन टेलिकमले माग गरेको जानकारी दिए ।

‘फाइभजी परीक्षणको लागि टेलिकमले २६०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गर्न सकिने भनी प्रस्ताव पठाएको छ,’ उनले भने ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीले पहिलो चरणमा फाइजी परिक्षणका लागि मिडरेञ्जको फ्रिक्वेन्सी २६०० माग गरिएको बताए । ‘लोअर फ्रिक्वेन्सी ब्याण्डमा ७०० वा ८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड पनि फाइभजीका लागि उपयुक्त हुने हामीले उल्लेख गरेका छौं, ।’

टेलिकमले २६०० मेगाहर्ज फ्रिक्वेन्सीमा फाइभजी परीक्षणको प्रस्ताव पठाएको भएता पनि फ्रिक्वेन्सीको विषयमा हालसम्म कुनै निर्णय भएको छैन ।

राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिले हालसम्म फ्रिक्वेन्सी नतोकेको हुँदा फ्रिक्वेन्सी कुन हुनेछ भन्ने विषय यकिन गर्न सकिने अवस्था नरहेको प्राधिकरणका निर्देशक अम्बर स्थापित बताउँछन् । त्यसैले हाल टेलिकमले पठाएको कार्ययोजना अध्ययन भइरहेको उनले जनाए ।

यसअघि प्राधिकरणले फाइभजीका लागि उपयुक्त हुने फ्रिक्वेन्सी निर्धारण गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितीमा पठाइसकेको छ । तर, उक्त समितिले हालसम्म फ्रिक्वेन्सीको विषयमा निर्णय भएको छैन ।

तर, प्राधिकरणले निर्धारण गरी समितिमा पठाएको फ्रिक्वेन्सीमध्ये २६०० पनि समावेश छ । यसकारण टेलिकमले यही ब्याण्डमा फाइभजी परीक्षणको अनुमति पाउने अनुमान गरिएकाे छ ।

स्थापितका अनुसार दूरसञ्चार प्राधिकरणले हाल फाइभजी परीक्षणसहित स्पेक्ट्रमको अध्ययन तथा फाइभजीका लागि कार्यविधि र मापदण्ड तयार गर्ने काम अघि बढाएकाे छ । त्यसका लागि समिति गठन भएको र त्यसले १५ दिनभित्र कार्यविधि तयार गर्ने उनले बताए । उनका अनुसार समितिले तयार पारेको कार्यविधिका आधारमा फाइभजी परीक्षणको लागि स्पेक्ट्रम उपलब्ध गराइने छ ।

अर्कोतर्फ टेलिकमले पनि प्राधिकरणबाट फाइभजी परीक्षणको लागि स्वीकृतिका साथै फ्रिक्वेन्सी पाएसँगै फाइभजी परीक्षणका लागि आवश्यक काम अघि बढ्ने गरी कार्ययोजना प्रस्तुत गरेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक अघिकारीका अनुसार प्राधिकरणबाट फ्रिक्वेन्सी तोकिएपछि त्यसैका आधारमा उपकरण सप्लायरसँग समझदारी गरी सामान भित्र्याउने काम सुरू हुनेछ । जसका लागि ९० दिनदेखी १२० दिन लाग्नेछ । पुससम्म फाइभजी परीक्षण गरिसक्ने योजना टेलिकमको रहेको अधिकारीले सुनाए ।

उनका अनुसार फाइभजी परीक्षणका लागि टेलिकमको थप कुनै लागत लाग्ने छैन । यसअघि फोरजी विस्तारको क्रममा भएको सम्झौताकै आधारमा बिना कुनै लागत फाइभजी परीक्षण सम्पन्न हुने उनको दावी छ ।

अधिकारीले भने, ‘टेलिकमले देशका ४ सहर र केही ग्रामीण भेगमा एकैपटक फाइभजी परीक्षण गर्नेछ । ग्रामीण भेगको हकमा बागमती प्रदेशभित्रै, जहाँ टावरमा स्पेस र पर्याप्त विद्युत आपूर्ति भएको ठाउँबाट परीक्षण हुनेछ ।’ साभार टेकपाना बाट 

Back to top