×

वीरगञ्ज, २ जेठ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्जयकुमार ठाकुरलाई मन्त्रालय तानिएको छन् ।

मेसु डा. ठाकुरलाई आइतबार स्वास्थ्य मन्त्रालय तानिएको नारायणी अस्पतालको स्रोतले जनाएको छ । उनि आज बिहानै काठमाडौँ गएको स्रोतले बतायो ।

दोस्रो चरणको कोभिड सङ्क्रमणले पर्सा जिल्ला नराम्ररी प्रभावित भएको बेला प्रभावकारी ढङ्गले काम गर्न नसकेपछि कारवाही स्वरूप उनलाई मन्त्रलाय तानिएको बुझिएको छ । उनलाई स्पष्टिकरण सोधेर कारवाही गर्ने मन्त्रालयको योजना रहेको स्रोतको दावी रहेपनि यसको आधिकारिक पुष्टि हुनसकेको छैन ।

मेसु डा. ठाकुरले अस्पताल व्यवस्थापन राम्ररी गर्न नसक्दा कोभिड सङ्क्रमितहरुको उपचारमा समस्या हुँदै आएको थियो ।

अस्पतालमा भर्ना भएका कोभिड सङ्क्रमितलाई उपचार गर्न चिकित्सक नजाने, असिक्जन र रेम्डीसिभिर जस्ता औषधी अभाव हुने, कोभिड वार्ड फोहरमा सरसफाई नहुने र सङ्क्रमितको आफन्त कोभिड वार्डमा आफै पुगेर खट्नु पर्ने जस्ता समस्या थिए । 

मेसु डा.ठाकुरलाई अस्पतालका समस्याहरुका बारेमा स्थानीय सञ्चारमाध्यमले पटक-पटक अवगत गराउँदा पनि उनले कुनै कारवाही गर्न सकेका थिएनन् । उने अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुसँग समेत समन्वय नगर्ने गरेको गुनासो आउने गरेको थियो । 

एकपटक त् उनले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डीसिभिर बेचेको समेत आरोप लागेको थियो । सङ्घीय सांसद् प्रदीप यादवले उनीमाथि यस्तो आरोप लगाएका थिए ।

यता, नारायणी अस्पतालका निमित्त. मेसु डा. एनामुल हकले ४-५ दिनको काम विशेषले मेसु डा. ठाकुर काठमाडौँ गएको बताए । 'काम विशेषले काठमाडौँ जानुभएको हो । ४-५ दिन फर्किन्छु भनेर जानुभएको छ । कारवाहीको लागि मन्त्रलाय तानिएको भन्ने बारे हामीलाई कुनै जानकारी छैन,' डा. हकले भने ।

एक वर्षअघि तत्कालिन नारायणीका मेसु डा. मदन उपाध्यायले वीरगञ्ज बस्न अस्वीकार गरेपछि वीर हस्पिटलमा कार्यरत रहेकै अवस्थामा डा. ठाकुरलाई मन्त्रालयले जिम्मेवारी दिँदै नारायणी अस्पताल पठाएको थियो ।

उनी आएसँगै नारायणी अस्पतालमा अनियमितता तथा स्वास्थ सेवालगायत बिग्रिँदै गएको गुनासो चिकित्सकहरुबाट आएको थियो । कर्मचारीलाई हेपेर काम लिने प्रवृतिले उनको कार्यकालमा वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रुष्ट थिए ।

Back to top