×

वीरगञ्ज, २० बैशाख । पर्सा जिल्ला नयाँ भेरियन्टसहितको कोरोना भाइरसले आक्रान्त अवस्थाबाट गुज्रिरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण सृजित भयावह अवस्थाबाट सामान्य अवस्थामा फर्काउने अभिप्रायले स्थानीय प्रशासनले बैशाख १६ गतेबिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

२२ गते राति १२ बजेसम्मका लागि लगाइएको निषेधाज्ञाको सोमवार पाँचौ दिन हो । दिनप्रतिदिन संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको हुँदा निषेधाज्ञाको अवधि लम्बिन सक्ने अनुमान  नगरवासीले गरेका छन् ।

निषेधाज्ञाको अवधिमा अतिआवश्यक सेवा तथा कामबाहेकका अन्य कामहरु बन्द गरिएको छ । अतिआवश्यक प्रशासनिक कामहरु भने स्वास्थ्य मापदण्डको पालना गरेर समयावधि घटाएर जारी राखिएको अवस्था छ । भूमिसुधार तथा मालपोत कार्यालय पर्सा भने गोप्य रुपमा सञ्चालन भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘एकाबिहानैदेखि मालपोत कार्यालयको गेटअगाडि लेखनदास तथा सेवाग्राहीहरुको भिड हुन्छ, बन्दाबन्दीको मौका छोपी लेखनदासहरुले झन बढी पैँसा लिएर कामहरु गरीरहेका छन्’ एक स्थानीयले नाम नबताउने शर्तमा यात्राडेलीलाई बताए । उनका अनुसार बाहिर लेखनदास र सेवाग्राहीको भिड र कार्यालयभित्र पनि कर्मचारीहरुले काम गर्ने गरेका छन् ।

यसअघि वि.स.२०७७ असोज २९ गते राति जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी कार्यालयप्रमुखसहित १८ जनालाई रंगेहात पक्राउ गरेको थियो । त्यो बेला राति ८ बजेर ३० मिनेटमा काम गरेको कार्यालयले अहिले पुनः निर्धारित समयभन्दा अगावै सञ्चालन हुने गरेको स्रोतको दावी छ ।

यता निषेधाज्ञाको समयमा आवश्यक एवम् आन्तरीक काम मात्रै भइरहेको मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख कुमुद तिवारीले दावी गरेका छन् ।

तर यता मुख्य गेट बन्द गरेर प्रहरी प्रशासनको आँखा छल्दै एक÷एक गरेर सेवाग्राहीलाई भित्र बोलाएर निषेधाज्ञाको मौका उठाउँदै माल कमाउने झमेला उक्त काम गोप्य रुपमा गरीरहेको कोरानाको कहरका कारण कार्यालय जान नसकेका एक कर्मचारीले खुलासा गरेका छन् ।  
 

Back to top