×

वीरगञ्ज, २० बैशाख । विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका लागि स्थगित गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले तत्कालका लागि जनगणना कार्यको गतिविधि स्थगित गर्ने निर्णय गरेको हो । 

योजना आयोग सचिवालयअन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ । विभागको निर्धारित तालिकाअनुसार गत चैतमा ८ हजार सुपरिवेक्षक छनोट गरी देशव्यापी तालिम दिएको छ ।

ती सुपरिवेक्षक तथा कर्मचारीले वैशाख १६ गतेबाट घरपरिवार लगत लिने कार्य थाल्ने पूर्वनिर्धारित कार्यक्रम थियो । सोही दिनबाट आंशिक लकडाउन भएपछि योजना आयोगले स्थगित गर्नका निम्ति मन्त्रिपरिषदमा सिफारिस गरेको आयोगका जनगणना हेर्ने सदस्य रामकुमार फुयाँलले जानकारी दिए ।

तालिकाअनुसार वैशाख १ गतेभित्र स्थानीय जनगणना कार्यालय स्थापना गर्ने, वैशाख १६ देखि २२ सुपरिवेक्षक तालिम दिने, २६ देखि जेठ १४ सम्म घरपरिवार सूचीकरण कार्य गर्ने रहेको छ ।

त्यसैगरी विभागले अनलाइनबाट प्राप्त आवेदनका आधारमा ३९ हजार जना गणक छनोटको नामावली वैशाख २६ गतेपछि प्रकाशन गर्ने तयारी गरेको छ । तालिकाअनुसार जेठ १७ देखि २२ सम्म गणक तालिम दिने रहेको छ । जेठ २५ देखि असार ८ गतेसम्म जनगणना कार्य हुने कार्यतालिका थियो । 


 

Back to top