×

वीरगञ्ज, ३१ चैत्र । वीरगञ्जमा सोमबार थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो ।

चैत्र २९ गते आइतबार स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना भएका वृद्धको मंगलबार बिहान ८ बजेर २० मिनटमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

अस्पताल भर्ना पश्चात कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार पिसिआर प्रविधिबाट उनको थ्रोट स्वाबलाई परिक्षण गर्दा कोरोना पुष्टि भएको डा. दासले बताए ।

वृद्धलाई कडा निमोनिया र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

यसअघि सोमबारनै बाराको जितपुरसिमरा उपमहानगरपालिका निवासी एक ३७ वर्षीय पुरुषको नारायणी अस्पतालमा कोरोनाको कारण मृत्यु भएको थियो । होलीभन्दा दुई दिन पूर्व भारतको हैदराबाद शहरबाट आएका उनको उपचारको क्रममा आज बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

नारायणी अस्पतालमा अहिलेपनि ७ जना कोरोना सङ्क्रमितको आईसीयूमा राखेर उपचार चलिरहेको डा. दासले जानकारी दिए । २२ वर्षदेखि ७२ वर्ष उमेर समूहसम्मका उनीहरुलाई अहिले अक्सिजन सपोर्टमा राखिएको उनले बताए ।

कोरोनाको पूर्व तयारी अनुरुप अहिले अस्पतालले १७ बेडको एचडीयू युनिट तयार परेको छ । डा. दासले एचडीयू युनिटमा भेन्टिलेटर नचाहिने विरामीलाई राखिने बताए । त्यसैगरी अस्पतालमा ६ बेडको कोभिड आइसीयूको पनि व्यवस्था गरिएको छ । कोभिड आइसीयूमा भेन्टिलेटर नचाहिने सङ्क्रमितलाई राखेर उपचार गरिने उनले बताए ।

Back to top