×

वीरगन्ज । विद्युत, टेलिभिजन र नेटवर्कका असरल्ल तारहरुले वीरगन्ज बजार कुरुप बन्दै गएको छ । आर्थिक नगरी भन्ने साथ हेर्दै मनमोहक र सभ्य सुसंस्कृत हुनु पर्नेमा वीरगन्ज बजार भने विद्युतीय तारको कारण कुरुप बन्दै गएको हो ।


विद्युत, टिभी, इन्टरनेट र टेलिकमका तारको संजाल वीरगन्ज बजारको मुख्य सडकमा मात्र नभई भित्रीगल्लीका हरेक छेउमा साहै्र अव्यवस्थित छन् । पटक–पटक तारकै कारण आगलागीका घटना पनि नभएका होइनन् । तर विद्युतका पोलमा टाँगिएका तारको संजाल व्यवस्थित गर्न न त स्थानीय सरकार अग्रसर भएको छ, न त तार टाँगिएका पोल गाड्ने विद्युत प्राधिकरण नै व्यवस्थित गर्न अग्रसर छ । दुवै निकायको हेलचेक्र्याईले वीरगन्ज बजार भने कुरुप बन्दै गएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

असरल्ल तारका कारण पटक–पटक विद्युतका पोल, ट्रान्सफर्मर र बढि तारको संजाल भएका ठाउँमा आगलागीका घटना समेत भईसके किन सम्बन्धित निकायको ध्यान नपुगेको हो ? बुझ्नै सकिएन उनले भने । यस्तै अवस्था रहिरहे कुनै दिन थप ठूलो दूर्घटना नहोला भन्न सकिन्न उनले थपे । यसमा विद्युत प्राधिकरण र वीरगन्ज महानगरपालिकाको बढि ध्यान पुग्नु पर्छ अध्यक्ष पन्तले बताए ।

सुन्दर शहरको छैन आभाष


‘शहर बजार भन्ने साथ हेर्दै मनमोहक हुनु पर्ने हो । तर त्यो आभाष पाइदैन’ मुर्ली सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम सर्राफले भने । विश्वका धेरै मुलुकका शहर बजार हेर्दै लोभलाग्दो छन् । हामी पनि शहरको सौन्दर्यीकरणका लागि जुटेका छौं । शहरलाई हरियाली बनाउन दिनरात खटेका छौं । तर पर्साको सदरमुकाम समेत रहेको वीरगन्ज बजारमा असरल्ल टाँगिएका तारको सञ्जालले आफैं लज्जित हुनु परेको छ उनले तर्क गरे ।

विद्युत वितरणका लागि विद्युत प्राधिकरणले विस्तार गरेका पोल र उसको तार संजाल मात्र नभएर ती पोलमा इलेक्ट्रोनिक्स व्यवसायका तारको संजाल पनि अधिक छ । ‘विद्युतका पोलको क्षमताभन्दा बढी तारको संजाल बढी हुँदा हावाहुरी र कुनै विपतका समयमा तार संजाल नै अर्को विपतको कारण नबन्ला भन्न सकिन्न’, अध्यक्ष सर्राफले भने । ‘काम लाग्ने तारभन्दा पनि काम नलाग्ने तारहरुको जालो अझ बढी छ । यो देख्दा वीरगन्ज शहर नै तार सञ्जालको जालोमा कैद भएको जस्तो लाग्छ’, उनले थपे ।

कुनै व्यवसायिक फर्मले टाँगेका कामका तारभन्दा पनि बिग्रिएपछि त्यहि छोडेका वेकामे तारहरुको संजाल अझ व्यापक छ । ‘काम नलाग्ने तारको भारले कतिपय पोलहरु ढल्ने अवस्थामा पुगेका छन् । कति पोलहरु त बांगिसकेका छन’, स्थानीयले भने । तर त्यसमा तार तान्ने काम भने रोकिएको छैन । सुविधाका नाममा असरल्ल रहेका तार नै भोलिका दिनमा दूर्घटना निम्त्याउने कारण नबन्ला भन्न सकिन्न उनीहरुले बताए ।

आफ्नो प्रयोजनका लागि भनी विद्युत प्राधिकरणले गाडेका पोलमा अरु तार लगाउन भने विद्युत प्राधिकरणले नै स्वीकृति दिएको विद्युतका कर्मचारीहरु बताउँछन् । प्राधिकरणको स्वीकृति विना अरुले आफ्ना पोलमा तार लगाउन नसक्ने उनीहरुको भनाइ छ । यस सन्दर्भमा विद्युत प्राधिकरणका जिम्मेवार व्यक्ति र वीरगन्ज महानगरपालिकाको नेतृत्व भने एकले अर्कोलाई दोष देखाएर पन्छिई रहेका छन् ।
 

Back to top