×

वीरगञ्ज, २१ फागुन । वीरगञ्जस्थित सृजनशील यूवाहरुको समूह संस्कृतीले काठमाडौँस्थित समर्थ नेपाल नामक संस्थासँगको सहकार्यमा पर्साको ठोरी गाउँपालिकाको एउटा विद्यालयमा वाटर फिल्टर वितरण गरेको छ ।

ठोरी गाउँपालिका वडा नम्बर ४ को घ्याङ्ग डाडा टोलस्थित श्री जीवन ज्योति माध्यमिक विद्यालयमा संस्थाले वाटर फिल्टर वितरण गरेको हो । 

संस्थाले विद्यालयका प्रधानाध्यापक पिताचन्द्र ढुंगेललाई अत्याधुनिक प्रविधिबाट निर्मित ११ थान फिल्टर र बाल्टिन हस्तान्तरण गरेको थियो । 

फिल्टर वितरण कार्यक्रममा बोल्दै संस्थाका कार्यवाहक अध्यक्ष आशु कुमार सर्राफले विद्यालयलाई उपलब्ध गराइएको फिल्टरलाई प्रयोग गरेर फोहरभन्दा फोहर पानीलाई प्रसोधन गरेर सफा र खाने युक्त बनाउँन सकिने बताए । 

सर्राफको नेतृत्वमा गएको टोलीले विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यालय र अन्य कर्मचारीहरु अगाडी फिल्टर जडान र प्रयोग गर्ने प्रविधि बारे प्रशिक्षण समेत दिएको थियो । सर्राफ अनुसार फिल्टरलाई १५ वर्षसम्म पानी प्रशोधनका लागि प्रयोग गर्न सकिन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक पिताचन्द्र ढुंगेलले फिल्टरबाट विद्यालयलाई ठूलो सहयोग पुगेको बताए । फिल्टर नहुँदा विद्यार्थीहरु खोलाबाट आएको फोहर पानी पिउन बाध्य हुँदै आएका थिए । फोहर पानीका खाँदा विद्यार्थीहरु विरामी पर्दा उनीहरुको पठनपाठनसमेत प्रभावित हुनेगरेको ढुंगेले बताए ।

कार्यक्रममा संस्कृती संस्थाको तर्फबाट किरण गिरि, शशिकान्त सर्राफ, इम्तियाज आलम, शक्ति अग्रवाल, सञ्चारकर्मी नवराज फुँयाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश श्रेष्ठ, शिक्षक, अभिभावकलगायतहरुको उपस्थिति रहेको थियो । 

विद्यालयले संस्कृतीबाट गएका सम्पूर्ण सदस्यहरुलाई खादा लगाएर सम्मान समेत गरेको थियो ।

Back to top