×

वीरगञ्ज । वीरगञ्जका नामुद जग्गा कारोबारी प्रेम जाटियाले १७ जनालाई जग्गा बेचेर ठगेको बुझिएको छ । 

वीरगञ्ज महानगरपालिकास्थित रेल्वे सडक निजकै रहेको श्रीराम कोलोनीमा प्रेम जाटियासँग १० वर्ष अघि जग्गा खरिद गरेर १७ जनालाई आफुहरु ठगिएको बताएका छन् । 

जग्गा खरिद गरेर घरसमेत निर्माण गरेर वर्षौंदेखि बस्दै आएपछि अचानक अन्य व्यक्तिले मोही दावी गर्दै मुद्दा दर्ता गरेपछि आफुहरुलाई प्रेम जाटियाले ठगेको उनीहरुले बताएका छन् । 

तत्कालीन जग्गाधनी रवि कुमार तथा अधिकृत वारेसनामा रहेका प्रेम जाटियाले मोही जग्गा एकल अधिकारको भन्दै उनीहरुलाई बिक्री गरेका छन् । तर अहीले आएर उक्त जग्गामा मोही रहेको फेला परेपछि आफूहरू ठगिएको जग्गाधनीमध्ये कृष्णकुमार सर्राफले बताए । 

तत्कालीन जग्गाधनी रवि कुमार र प्रेम जाटियाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दा परेको छ । पीडित सर्राफले २०६० सालदेखि बिक्री शुरू भएको श्रीराम कोलोनीको जग्गामा आफूलगायत १७ जना २०६५ सालदेखि नै घर बनाइ बसेको बताउँदै अहिले आएर एक्कासि मोहीवाला राजुसिंह राजपूतले मुद्दा दर्ता गरेपछि आफूहरू ठगिएको बताए ।

रुद्रदेवी उपाध्यायबाट उक्त जग्गा गोपाल अग्रवालले खरीद गरेको र अग्रवालको जग्गा कित्ता नम्बर ६० बाट २०६० सालमा जाटियाले ७ कट्ठा जग्गा खरीद गरी ३५ नम्बर कित्ता बनाएको र कित्ताकाट गरी १७ जनालाई बिक्री गरेको प्रमाणले देखाउँछ ।

रुद्रदेवी उपाध्याय र गोपालप्रसाद अग्रवालको लालपुर्जामा मोहीवाला गुल्जारसिंह राजपूत रहेको तर जाटियाले खरीद गरेको जग्गामा मोही महल खाली राखी एकलौटी रहेको देखिन्छ । 

उक्त कोलोनीमा खाली जग्गादेखि चार तल्ले भवनसम्म निर्माण भइसकेको र अहिले एक्कासि मोहीवालाले भूमिसुधारमा मुद्दा हालेपछि आफूहरू बिचल्लीमा परेको पीडितहरूले बताएका छन् ।

उजूरी दिनेहरूमा शान्ति कार्की, उषा मण्डल, लेखा श्रीवास्तव, अमितकुमार महतो, कृष्णकुमार सर्राफ, रामबाबूप्रसाद कलवार, गीता सिंह, मीना देवी, शशिकान्त चौधरी, हरि शर्मालगायतले संयुक्तरूपमा आफूहरू ठगिएको र तत्काल समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

अर्कोतिर मोहीवालाले १७ जनाविरुद्ध भूमिसुधार कार्यालयमा मुद्दा दिएको र उक्त मुद्दाको पेशी फागुन १८ गते रहेको छ ।

Back to top