×

वीरगञ्ज । समुद्रपार व्यापार सहजीकरणमा बंगलादेशी समुद्री बन्दरगाह उपयोगको सहज उपाय खोज्न थालिएको छ । यसका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले सम्भाव्यता अध्ययन थालेको छ ।

बंगलादेशको मोंगला बन्दरगाह उपयोगका लागि पहल थालिएको महावाणिज्यदूतावासले बताएको छ । महावाणिज्य दूतावासको टोलीले बंगलादेशको दोस्रो ठूलो मोंगला बन्दरगाह उपयोगका लागि सम्भावित सहज रूट र दूरीबारे अध्ययन शुरू गरेको उपमहावाणिज्य दूत तर्कराज भट्टले जानकारी दिए ।

महावाणिज्य दूत ईश्वरराज पौडेलसहितको नेपाली अधिकारीहरूको टोलीले भारत–बंगलादेश सीमास्थित पेट्रापोल एकीकृत जाँच चौकी (आईसीपी) को स्थलगत अध्ययन गरेको छ । पेट्रापोल आईसीपी बंगलादेशको बेनापोलसित जोडिएको छ ।

भारतले पेट्रापोल आईसीपी उपयोगको स्वीकृति दिएमा बेनापोल हुँदै मोंगलासम्मको पहुँच सहज हुने भट्टले बताए । यो आईसीपीबाट मोंगला बन्दरगाह १४५ किलोमीटर दूरीमा पर्छ । नेपाल–बंगलादेश व्यापार सन्धिअनुसार नेपालले मोंगला र चटगाउँ बन्दरगाह उपयोग गर्न सक्छ । पेट्रापोल आईसीपी भारत–बंगलादेश व्यापारको मुख्य नाका हो । भारतले यो आईसीपीबाट वर्षेनि १ लाख ४० हजार कन्टेनर मालसामान आयात गर्छ भने १ लाख २० हजार कन्टेनर निर्यात हुन्छ । नेपाल–बंगलादेश व्यापार सन्धिअनुसार नेपालले बंगलादेशको बेनापोल आईसीपी पनि उपयोग गर्न सक्ने उपमहावाणिज्य दूत भट्टले बताए ।

‘यो आईसीपीसँग जोडिएको भारततर्फको पेट्रापोल आईसीपी उपयोगका लागि भारतसितको व्यापार सन्धि संशोधन आवश्यक पर्छ । त्यसका लागि आगामी अन्तरसरकारी बैठकमा प्रस्ताव राख्नुपर्छ,’ भट्टले आर्थिक अभियानसित भने ।

मोंगला बन्दरगाह उपयोग गर्न भारतको पेट्रापोल आईसीपीको रूट उपयोगका लागि भारतीय पक्षलाई सहमत बनाउनुपर्ने भट्टले बताए । आईसीपी उपयोगका लागि भारतसितको आगामी आईजीसी बैठकमा एजेन्डा लैजान वाणिज्य तथा आपूर्ति मन्त्रालयसित छलफल गरिने उनले बताए ।

महावाणिज्य दूतावासले स्थलगत अध्ययनका क्रममा आएका निष्कर्षमा छलफलको योजना बनाएको छ । बंगलादेशसित रेल र सडक दुवै मार्ग जोडिएको यो आईसीपी उपयोग गर्दा बंगलादेश र तेस्रो मुलुकसँगको व्यापार सहजीकरण गर्न सकिने महावाणिज्य दूतावासले बताएको छ । मोंगला बन्दरगाह उपयोगको बाटो खोल्न सके पूर्वी नाका विराटनगरबाट व्यापार सहज हुने भट्टको दाबी छ । विराटनगरबाट मोंगलापोर्ट ६७२ किलोमीटर दूरीमा छ । वीरगञ्जबाट यो बन्दरगाह ९१० किलोमीटर पर्छ ।

यो बन्दरगाह उपयोगको रूट तय गर्न सके बंगलादेशसितको द्विपक्षीय र तेस्रो मुलुकसँगको व्यापार सहज हुने विश्वास नेपाली अधिकारीहरूको छ । मोंगला बन्दरगाह समुद्रपार व्यापारमा भारतको पश्चिम बंगालस्थित कोलकाता बन्दरगाहका असहजता समाधानको विकल्प बन्न सक्ने अधिकारीहरूको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

facebook sharing button

twitter sharing button

sharethis sharing button

Back to top