×

सांकेतिक तस्विर ।

वीरगञ्ज २७ पुष । पर्सामा आफ्नै छोरीलाई आमा बुवाले जलाएर हत्या गरेको घटना बाहिर आएको छ । सानो जातको केटासँग प्रेम गरेको भन्दै पर्साको बहुदरमाई नगरपालिकामा आमा बुवाले आफ्नै छोरीलाई आगोमा जलाएर मारेको बुझिएको छ ।

बहदुरबामाई नगरपालिका वडा नम्बर ८ स्थ्ति रामनगरीमा आगलागीमा परेर मृत्यु भएको भनिएको युवतीलाई बुवाको सहमतीमा आमाले आगो लगाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

प्रहरीका अनुसार गत कत्तिक २१ गते लक्ष्मीपूजाको दिन राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो । सुरुमा मृत्युको कारण घरमा लागेको आगलागी देखिएपनि अहिले आएर प्रहरी अनुसन्धानमा आमा बुवाले छोरीलाई आफै जलाएर मारेको खुल्न आएको छ ।

घटनापश्चात स्थानीय सञ्चारमाध्यम समेतले मानाको मृत्यु घरमा लागेको आगलागीका कारण भएको सूचना सम्प्रेषण गरेका थिए । तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

घटना भएको दिन मानाको परिवारका सदस्यले घरमा लागेको आगलागीका कारण उनको मृत्यु भएको प्रहरीलाई जानकारी दिएका थिए । मानाको आमा बुवा अनुसार उनि निदाएको कारण उनलाई बचाउँन सकिएको थिएन ।

तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका उत्पन्न भएको थियो । शंका लागेपछि प्रहरीले सुरु गरेको अनुसन्धानले घटनालाई नयाँ मोड दियो । प्रमाण र तथ्यलाई केलाउँदै जाँदा हत्या भएको पुष्टि भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए ।

‘पहिला भित्र मानिस छ भनेर कसैले भनेन, आगो निभाउन मात्रै केन्द्रित भयौँ । पछि भित्र शव भेटियो भन्ने खबर आयो,’ उनले भने, ‘घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको देखियो, खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिन्थ्यो । घटना शंकास्पद लागेपछि अनुसन्धान सुरु गर्‍यौं ।’

छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् । छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुल्यो ।

मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् ।

लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुष २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

यसरी गरिन हत्या

साँझ ६ बजे घरपरिवारका सबै सदस्यले लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सुत्न ओछ्यानतिर लागे । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मारिदिनुपर्छ भनेर सल्लाह गरे ।

त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् । छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् । त्यसपछि आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् ।

बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा छोरालाई लिएर भागिहाल् भनेर गाली गरेको र नगिना साह आएर आगो निभाउन खोज्दा बाँसको भाटाले टाउकोमा हानेर आगो निभाउन नदिएको लालमतीले बताएकी छन् । पछि छिमेकीअरु जम्मा भएर आगो निभाएका थिए ।

पहिला विष खुवाएर मारेको हो वा सीधै जलाएको हो भन्नेबारे प्रहरी अनुसन्धानले स्पष्ट पार्न सकेको छैन । पोष्टमार्टम गर्दा भिसेरा निकालेर परीक्षण गर्नुपर्नेमा चिकित्सकले त्यसो नगरेका कारण अनुसन्धान कमजोर बनेको प्रहरी स्रोतले जनाएको छ ।

Back to top