×

वीरगञ्ज १४ मंसिर । समाजमा रहेको इज्जतको लागि आफनै छोरीको सुपारी दिएर हत्या गराएको अभियोगमा हत्यामा संलग्न बुवा आमासहित ५ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

इज्जत जाने भन्दै आफ्नै छोरीको एक लाख रुपैयाँ सुपारी दिएर हत्या गर्न लगाउने रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहा वस्ने मृतकका बुबा ५५ वर्षीय रामअयोध्या साह,आमा सता देवी साह, देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनिया वस्ने ६० बर्षिय शेख अलियास, शेख ईम्ताज र परोहा नगरपालिका-४ वस्ने ४६ बर्षियको छोटेलाल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

गत कात्तिक २६ गते राति माधव नारायण नगरपालिका ७ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा गोली हानी हत्या गरिएको थियो। साहको टाउकोमा गोली लागेर घटनास्थलमा नै ज्यान गएको थियो ।

अमृताको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनका आमा बुवासहित पाँचजनालाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

गाउँ समाजमा आफनो इज्जत जाने भनी अमृताको आफनै बुवाले एक लाख सुपारी दिएर हत्या गर्न लगाएको भन्‍ने कुरा अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए ।

पाँचैजनाले अपराध गरेको भन्ने कुरा स्वीकार समेत गरिसकेको तथा रौतहट जिल्ला अदालतबाट उनीहरु बिरुद्ध ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक शाहले बताए ।

प्रेम सम्बन्ध भएकाले परिवारबाटै पटक-पटक अमृताको हत्या प्रयास

मृतक अमृताको आफनै गाउँको थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्ध थियो। सोही क्रममा नै उनको २०७६ साल फागुनमा सर्लाही विष्णु गाउपालिका ३ बस्ने मानकी साहको छोरा रुपेश साहसँग मागी विवाह भएको थियो ।तर,अमृताका श्रीमान् साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने समेतको आक्रमण भएपछि उनी माइतीमा बस्दै आएकी थिइन् ।

गत असारमा रुपेश र अमृताबीच सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेद भए पनि उनका श्रीमान् पक्षबाट अमृता र उनका प्रेमी सोसिन्द्रमाथि ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता भएको थियो ।

सोसिन्द्र र अमृताबिचको प्रेम समबन्ध घर परिवारलाई भने स्विकार्य थिएन । साथै सर्लाहीको मुद्दामा छोरी पक्राउ परे ईज्जत जाने र सोसिन्द्रसित भागेर जाने डरका कारण अमृताका बुवा र भिनाजु लक्ष्मण साह मिलेर परोहा नगरपालिका .४ वस्ने छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिई भारतमा लगि मार्ने योजना बनाएपनि अमृता बाँच्न सफल भएकी थिइन् ।

उक्त योजना असफल भएपछि पुनः योजना बनाइ अमृताका बुवा र भिनाजुले सोही गोनाही नगरपालिका २ लक्ष्मिनीया कुरुनीया वस्ने कैमुल देवानलाई एक लाख सुपारी दिएर गोली हानी हत्या गर्न लगाएको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए ।

Back to top