×

वीरगञ्ज १३ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात साउन १ गतेदेखि कार्तिक मसान्तसम्मको अवधिमा निर्यात उल्लेख रुपले बढेको छ । 

कोरोना महामारीले सम्पूर्ण आर्थिक गतिविधि नकारात्मकरुपमा प्रभावित भैरहेको बेला मुलुकको निर्यात व्यापार १०.८१ प्रतिशत बढेको छ । यसबाट सरकारले ठूलो राहतको महसुस गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा ४० अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७६–७७ को सोही अवधिमा ३६ अर्ब २७ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । 

त्यस्तै सोही अवधिमा आयात व्यापार १०.६२ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७६–७७ का ४ महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात भएकामा २०७७–७८ को सोही अवधिमा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ ।

निर्यातमा भएको वृद्धि र आयातमा आएको कमीले समग्र व्यापार घाटा साढे १२ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७६–७७ को पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड रुपैयाँ पुगेको थियो । 

आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा भने यस्तो घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँमा झर्नु अर्थतन्त्रको लागि सकारात्मक संकेतको रुपमा लिइएको छ ।

यसैगरी नेपालबाट सबैभन्दा धेरै निर्यात र आयात भएको वस्तुमा भटमासको तेल छ । पहिलो चार महिनामा ११ अर्ब ६ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको छ । 

यसलाई रिफाइन गरेर १० अर्ब २६ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । खाने तेल भारत निर्यात भएपछि अस्वाभाविक रूपमा मूल्य वृद्धि भइरहेको छ । व्यवसायीहरूका अनुसार दसैंयता मात्रै होलसेलमा प्रतिलिटर न्यूनतम १५ रुपैयाँसम्म मूल्य बढेको छ ।

Back to top