×

वीरगञ्ज १ कार्तिक । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बुद्धले प्रतिपादन गरेको पञ्चशीललाई आत्मसाथ गरी बढे मात्र मानव जातीको अस्तित्व बच्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित टांसी साङ्ग थार्वालीङ बौद्ध समितिको छैठो साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै तामाङले अहिले मानव जाति लोभ लालचमा परी हत्या हिंसालगायतका अपराधमा लिप्त भएको र समाज अराजक बन्दै गएको बताए ।

उनले सामाजिक शान्ति स्थापना गर्न गौतम बुद्धको मार्ग नै अहिलेको आवश्यकता रहेकोले सबैले बुद्धका मार्गलाई अनुसरण गर्न अनुरोध गरे ।

साथै भिस्वा डाँडा एक ऐतिहासिक धरोहर वीरगञ्जमा रहनु भनेको सम्पूर्ण वीरगञ्जवासीको लागि गर्भको कुरा रहेको बताउँदै उनले सबैले मिलेर यसको जगेर्ना गर्नुपर्ने जिम्मेवारी समेत रहेको बताए ।

शनिबार सम्पन्न साधारणसभाले राम बहादुर लामाको अध्यक्षतामा ९ सदसिय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर लामा, सचिवमा सागर लामा, कोषाध्यक्षमा उमेश लामा, सह-सचिवमा राज कुमार तामाङ, सदस्यहरुमा सन्नी पाख्रिन, हेमन्त तामाङ, ज्योति तामाङ, सिता तामाङ रहेका छन् ।

नेपाल तामाङ घेदुङ्ग वीरगञ्जका अध्यक्ष छेडुप लामाले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभाकामना मन्तव्य दिँदै नयाँ कार्यसमितिले भिस्वा डाँडा र गुम्बाको संरक्षण र विकास गर्ने कुरामा बिश्वस्त रहेको बताए ।

कार्यक्रममा गुम्बा प्रमुख प्रेम दोर्जे मोक्तानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण हेमन्त तामाङले गरेका थिए ।

Back to top