वीरगञ्ज २८ असोज । पर्साको पश्चिमी भेगका ग्रामिण जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको धोबिनी गाउँपालिकास्थित भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र अब २४ सै घण्टा आपतकालीन सेवा दिने भएको छ ।
विगत लामो समयदेखि बन्द रहेका कयौँ सेवाहरुलाई पुन: सूचारू गर्नका साथै नयाँ सेवाहरु थपेर आफ्नो सेवा क्षेत्र विस्तार गरेको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विरामीहरुले २४ सै घण्टा स्वास्थ्य सेवा लिन सक्ने भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारको विशेष सक्रियता र प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज नवनित कुमार रौनियारको पहलमा स्वास्थ्य केन्द्रले २४ सै घण्टा स्वास्थ्य सेवा दिने भएको हो । त्यसैगरी केन्द्रले आफ्नै फार्मेसी समेत सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य केन्द्रले यसअघि प्रसुती र एक्स रेलगायातका सेवाहरु सुरु गरिसकेको छ । केन्द्रमा प्रसुती सेवा सुरु भएसँगै गर्भवती महिलाहरु जिल्लाको सदरमुकाम वीरगञ्ज जाने झनझटबाट मुक्त भएका छन् ।
रौनियारको पहलमा स्तरोन्नति भएको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट धोबिनी गाउँपालिकाका बासिन्दाले मात्र नभएर अन्य पालिकाका जनताले समेत सेवा लिँदै आएका छन् । रौनियारले स्वास्थ्य केन्द्रलाई जिल्ला कै नमुना स्वास्थ्य केन्द्रको रुपमा स्थापना गर्ने आफु प्रतिबद्ध रहेको बताए ।
छोटो समयमा राम्रो प्रशासनिक काम गर्दै गाउँपालिकामा विकास निर्माणको कामदेखि स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा सुधार गर्न समेत रौनियार सफल भएका छन् ।