वीरगञ्ज २८ असोज । नेकपा सखुवाप्रसौनी गाउँपालिका कमिटीको शपथग्रहण कार्याक्रम सोमवार सखुवाप्रसौनीमा सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाको मुख्य आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका कमिटीका अध्यक्ष वासुदेव महतोलगायतका पदाधिकारी तथा सदस्यहरूलाई पर्सा जिल्ला पार्टी कमिटीका अध्यक्ष प्रभु हजराले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेकपाका नेता तथा संविधानसभा सदस्यहरू राजकुमार गुप्ता, प्रद्युम्न चौहान, जुनैद अन्सारी, प्रदेश नं २ पार्टी कमिटीका सदस्य तेजप्रकाश निषाद, युवा नेता यशवन्त यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पार्टी एकीकरणपछि गाउँसम्म नयाँ संरचना अनुसारको सङ्गठन बनिसकेकोले अब त्यसलाई जिम्मेवारीका साथ चलायमान बनाउन विलम्ब गर्न नहुने वक्ताहरूको कथन थियो ।
पार्टीले गरेका कामहरूबारे सरकार तथा पार्टीसम्म गुनासो एवं सुझाव पठाउने माध्यम नै स्थानीय पार्टी कमिटी भएकोले यसलाई अलिकति पनि निष्क्रिय राख्न नहुने भन्दै उनीहरूले जिम्मेवारीका साथ सर्वसाधारणको गाउँ, टोल, झुपडीसम्म पुगेर जनभावना बुझ्न र नागरिकसँग हातेमालो गर्दै अगाडि बढ्न पालिका कमिटीलाई निर्देशन दिए ।
कमिटीका अध्यक्ष महतोको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य दीपेन्द्रकुमार साह तेलीले गरेका थिए।