×

वीरगञ्ज २३ असोज । वाणिज्य विभागले म्याद सकिएका खाद्यवस्तु नष्ट गर्न निर्देशन दिए पनि विशाल ग्रुपले अटेर गरेको पाइएको छ।

ग्रुपमार्फत म्याद नाघेका खानेकुरा बजारमा पुगिरहेको थाहा पाएपछि वाणिज्य विभागले त्यस्ता खानेकुरा फिर्ता ल्याउन निर्देशन दिएको थियो। तर बजारमा अझै पनि म्याद नाघेका खानेकुरा छ्यापछ्याप्ती छन्।

गत असोज १५ गते विशाल ग्रुपअन्तर्गतको युनाइटेड डिस्ट्रिब्युटर्सको स्थानीय डिलर आयान डिस्ट्रिब्युटर्स, आईएन डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्सको गोदाममा वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले छापा मार्दा ती गोदाममा म्याद सकिएका खाने कुरामा पुनः लेबलिङ गरी बजार पठाउन लागेको भेटिएको थियो ।

प्रहरीले छापा मार्दा विशाल ग्रुपले बिक्री गर्ने स्निकर्स र मार्स चक्लेट, ओरियो बिस्कुट, ट्याङ जुस, बोर्नभिटा, पिल्सबेरी प्यास्ट्री केक, अस्टोर–मिनी स्टिक, जुसी मिल्क, मुन्च अन (नमकिन), अनमोल म्यारी प्लस (चिया), चोकोरिच, लुभिट, कोपिको (चकलेट), कफी, गो, चोको–पोलिल, चोकी–चोकी, ब्याङ ब्याङ, टाइगर क्लियर चकलेट लगायत ब्रान्डका १५ ट्रक खाद्य वस्तुमा पुनः लेबलिङ गरी बजार पठाउन लागेको पाइएपछि तीनैवटा गोदाम सिल गरेको थियो।

सिल गर्नुअगाडि पनि म्याद नाघेका वस्तु बजारमा गएको भन्ने थाहा पाएपछि विभागले त्यस्ता वस्तु बिक्री नगर्न विक्रेतालाई भनेको हो। तर, अहिलेसम्म त्यस्ता वस्तु बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ।

जनस्वास्थविद्हरु म्याद नाघेको खाद्य सामग्री खाँदा कलेजो, मिर्गाैला, मुटुजस्ता अंगमा असर गर्ने बताउँछन्।

वाणिज्य विभागको निर्देशन लत्याउँदै सुपरमार्केट

वाणिज्य विभागले १५ असोजमा देशका ठूला सुपरमार्केट र डिपार्टमेन्टल स्टोरलाई पत्र पठाएरै त्यस्ता वस्तुको बिक्रीवितरण नगर्न निर्देशन दिएको थियो।

तर ब्लुबर्ड, काष्ठमण्डप बजार, गृहिणी, जेमिनी, नमस्ते, सेलवेज, केके मार्ट लगायतका सुपरमार्केटमा ती वस्तुको बिक्री भइरहेको छ।

भाटभटेनीका केही शाखाबाट त्यस्ता खाद्य बस्तु हटाइए पनि कोटेश्वर, भक्तपुर लगायतका शाखाबाट भने बिक्री भइरहेको छ। यद्यपि, भाटभटेनीले त्यस्ता सामग्रीहरु केही स्थानबाट हटाइसकिएको र अरु ठाउँबाट हटाउन थालिएको जनाएको छ।

के भन्छ वाणिज्य विभाग?

वाणिज्य विभागका निर्देशक सागर मिश्रका अनुसार विभागले देशका ठूला सुपरमार्केट र डिपार्टमेन्ट स्टोरहरुलाई विशाल गु्रपले पठाएका त्यस्ता सामग्री पसलबाट हटाउन औपचारिक रुपमा जानकारी दिइसकेको छ।

यद्यपि, बजारभर पुगेका त्यस्ता वस्तु कहाँकहाँ छन् सबै ठाउँमा अनुगमन गर्न विभागबाट सम्भव नभएकाले उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने मिश्र बताउँछन्।

मिश्रले भने, ‘हामीले अखाद्य वस्तु भेटाएको कुरा सार्वजनिक सञ्चारमाध्यमबाट आमसर्वसाधारणलाई जानकारी दिएका छौं। त्यस्तै ठूला र धेरै विक्री हुने भाटभटेनी सुपरमार्केट, केके मार्ट, बिग मार्टलगायतलाई औपचारिक रुपमै त्यस्ता सामान बिक्रीवितरण नगर्न निर्देशन दिएका छौं। गोदाममा भेटिएका सवै अखाद्य वस्तु बरामद गरी नष्ट गरेका छौं।’

‘वाणिज्य विभागले सर्वसाधारणलाई सचेत गराउने काम गर्छ,’ उनले भने, ‘बजारमा पुगिसकेका अखाद्य वस्तु आफै‌ंले फिर्ता ल्याउन सक्दैन।’

विशाल ग्रुपलाई कारबाही नै नगरी उन्मुक्ति

१५ असोजमा विशाल ग्रुपअन्तर्गतका आयान, अमेजन र आईएन इन्टरनेसनलमा छापा मारी विभागले आयानकी सञ्चालक पुष्पा अग्रवाल, बिजनेस म्यानेजर रोनक बोथ्रासहित ९ जनालाई पक्राउ गर्‍यो। तर अमेजन र आईएनबाट भने कोही पक्राउ गरिएन।

पक्राउ परेकामध्ये पनि आयानकी सञ्चालक अग्रवाललाई एक करोड धरौटीमा रिहा गरियो भने अरु सामान्य तारेखमा रिहा भए। भारतीय नागरिक बोथ्रा भने अझै हिरासतमा छन्।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले छापा मारी पक्राउ गरेकाले उनीहरुलाई कालोबजारी तथा केही सामाजिक अपराध कानुनअनुसार जिल्ला प्रशासनले नै मुद्दा अघि बढाउन सक्थ्यो।

तर जिल्ला प्रशासन कार्यालयले उक्त मुद्दा वाणिज्य विभागमा पठायो। जिल्ला प्रशासन कार्यालयले कालोबजारी र अन्य कसुरमा मुद्दा चलाउँदा सजाय विभागबाट भन्दा धेरै हुन सक्थ्यो।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ मानवताविरुद्धको अपराधमा जेल बस्नुपर्ने सञ्चालकलाई विभागले सहजै उन्मुक्ति दिएको बताउँछन्।

उता सञ्चालकहरुले नष्ट भएका खाद्य वस्तुहरुको बिमा रकम समेत असुल गरिसकेको स्रोतले बताएको छ।

Back to top