वीरगञ्ज २३ असोज । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जको घण्टाघर चोकमा नेपाली कांग्रेस पर्साले प्रदर्शन गरेको छ ।
केसी अनशन बसेको २६ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले जिल्ला सभापति अजय द्विवेदीको नेतृत्वमा प्रदर्शन गरेको हो । प्रदर्शनपछिको कोणसभामा बोल्दै नेता द्विवेदीले डाक्टर केसीका माग अबिलम्ब पुरा गरेर उनको जीवन रक्षा गर्न माग गरेका थिए ।
केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग कम्युनिष्ट सिद्धान्तसँग मिल्ने भएपनि दुई तिहाईको कम्युनिष्ट सरकारले उनका माग सुन्न नै नचाहनु आश्चर्यजनक रहेको द्विवेदीले बताए ।
अनशनका क्रममा केसीलाई केही भइहालेमा त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी उनले दिए ।
विगतमा कांग्रेसको सरकार बनेका बेला भएका सहमतिसमेत ओलीले उल्ट्याएर केसीलाई अनशन बस्न बाध्य पारेको उनको आरोप थियो ।
प्रदर्शनमा पुर्व मन्त्री सुरेन्द्र चौधरी, वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, नेपाली कांग्रेस र उसका भातृ संगठनका नेता तथा कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।