×

वीरगञ्ज २३ असोज । सर्वोच्च अदालतले पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारको सांसद् पद फुकुवाको माग गर्दै दायर भएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

रौनियारले हालेको उत्प्रेषण मुद्दामा सर्वोच्चले बिहीवार संघीय सरकार, संसद् सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा कारण देखाउन आदेश दिएको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलाले मुद्दालाई अग्राधिकार दिँदै रौनियारको पद निलम्वन गर्नुको कारण देखाउन आदेश दिएको छ । अदालतले पद फुकुवाको अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

दुवै पक्षको छलफलपछि पद फुकुवाको अन्तरिम आदेश दिने नदिने निर्णय लिइने भएको छ । बर्दियाको बबई पुल निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगले रौनियारसहित १२ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा हालेको थियो । रौनियार संस्थापक रहेको पप्पु कन्स्ट्रक्सनले बनाएको पुल भासिएपछि अख्तियारले त्यसमा छानविन गरेको थियो ।

मुद्दा हालेलगत्तै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार रौनियारको सांसद पद निलम्वन हुने व्यहोराको पत्र संसद सचिवायलाई पठाएपछि सचिवालयले विसं २०७५ असोज १९ गते यस सम्बन्धी सूचना सार्वजनिक गरेको थियो ।

आफ्नो पद निलम्वन नेपालको संविधान २०७२ र संसद नियमावलीविपरीत भएको भन्दै रौनियार सर्वोच्चमा पुगेका थिए ।

Back to top