वीरगञ्ज २३ असोज । जिल्ला सुरक्षा समितिले चाडपर्व बेला बढ्ने सक्ने कोरोना संक्रमणलाई मध्यनजर गर्दै चाडपर्व विशेष रणनीति तय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा हिजो पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । बैठकले नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै काठमाडौंलगायत अन्य जिल्लाबाट चाडपर्व मनाउन जिल्लामा आउने नागरिकहरुको व्यवस्थापन र बजारको भिडभाड नियन्त्रण गर्न विषयमा विभिन्न निर्णयहरु गरेको छ ।
लामो दुरीका रात्रिकालिन र दिवाकालिन सवारी साधन मार्फत पर्सा जिल्ला आउने यात्रुहरुको पथलैया वीरगञ्ज सडकखण्डको परवानीपुरमा र बारा पर्साको सीमानामा रहेको लक्ष्मनियामा नेपाल प्रहरीको चेकपोष्टमा नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखिने भएको छ ।
यस्तै, प्रत्येक घरमूलीले आफ्नो घरमा चाडपर्व मनाउन आउने आआफ्ना परिवारका सदस्यहरुको नामावली आगमन भन्दा अगावै सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्थानीय युनिटहरुमा बुझाउनु पर्ने निर्णय पनि बैठकले गरेको छ । जिल्ला भित्रिने प्रत्येक व्यक्तिको निगरानी गर्ने जिम्मा स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई दिइएको छ ।
यसैगरी, जिल्ला भित्रिने सर्वसाधारणको लागि स्थानीय तहले आवश्यकता अनुसार क्वारेन्टाइन तथा प्रतिकार्य समेतको व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
त्यसैगरी जिल्लाको भारतसँग जोडिएको सीमानामा अवैध चोरी पैठारी र अनाधिकृत आवतजावत रोक्न स्थानीय तह र सिमानाकाका आम नागरिकहरुलाई विशेष अनुरोध गर्नेपनि निर्णय भएको उनले बताए । उनले सीमा नाकावाट अपरिचित व्यक्ति जिल्ला भित्रिएमा आएमा स्थानीय प्रशासनलाई तुरन्त खबर प्रजिअ तामाङले सर्वसाधारणलाई अनुरोध गरे ।
त्यस्तै, आफ्नो छरछिमेकमा कोही कसैलाई कोभिडको लक्षण देखिएमा तुरुन्त स्वाब संकलन गर्नका लागि स्थानीय स्वास्थ्यकर्मी वा प्रहरीलाई खबर गर्न समेत उनले जिल्लाबासीलाई अनुरोध गरे । यसैगरी, बाहिरी जिल्लाबाट आफ्नो टोलमा आएका व्यक्तिहरुको अनावश्यक आवागमनमा रोक लगाउन पनि उनले जिल्लाबासीलाई आग्रह गरे ।
यसअघि बसेको बैठकले चाडवाडमा हुने भिडभाडलाई मध्यनजर गर्दै गहवामाई, बिन्दवासिनि, विर्तामाई, नगवालगायतका धार्मिक स्थलमा बली निषेध गर्ने समेत निर्णय गरेको थियो । त्यस्तै, धार्मिक आस्थामा आँच नपुग्ने गरी भिडभाड नगरी शक्ति पिठहरुमा नित्य, पूजा अर्चना मात्रै गर्न दिने पनि निर्णय भएको थियो ।