×

वीरगञ्ज २२ असोज । सन् २०२२ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला भएको छ ।

नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला भएको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभीको फारम भर्ने अन्तिम मिति २०७७ कात्तिक २५ गते (नोभेम्बर १०) सम्म तोकिएको छ।

डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ।

डीभीको फारम http://www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिने दूतावासले जानकारी दिएको छ।

कसरी भर्ने डीभी ?

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे/नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।

यदी डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डीभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन ।

छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।

डिभी के हो, कसरी पर्छ ?

अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ ।

नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् ।

अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो ।

अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरु आउने मुलुकका लागिमात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।

आखिर के हो डिभी ?

खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीनकार्ड दिइने प्राबधान छ । डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

Back to top