×

वीरगञ्ज २२ असोज । सवारीसाधन सञ्चालनको लागि सरकारले तोकेको मापदण्ड यातायात व्यवसायीहरुले नमानेपछि भिडभाड र ठगि नियन्त्रणको लागि वीरगञ्जमा अनुगमन समिति गठन गरेको छ ।

सरकारले कोरोनाभाइरस नियन्त्रणको लागि ५० प्रतिसत यात्रु राखेर कायम भाडादर भन्दा ५० प्रतिसत बढी लिने नियम लगाएपनि यातायात व्यवसायीहरुले यातुहरुलाई ठग्दै आएका थिए ।

सवारीसाधन सञ्चालन गर्दा यातायात व्यवसायीहरुले कोचेर यात्रु राख्ने देखि सय प्रतिसतसम्म बढी भाडा उठाएको गुनासोहरु आउने गरेको छ ।

वीरगञ्जको बसपार्क क्षेत्रलगायातका ठाउँहरुबाट छुट्ने लामो र सानो दुरीका सवारीहरुले यात्रुलाई ठग्ने घटना बढेपछि प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले बुधबार जिल्लाका सरोकारवालाहरु नियाकको बैठक डाकेर यात्रुलाई ठग्ने चालक र सह-चालकलाई कानुम बमोजिम कारवाही गरिने निर्णय गरेको छ ।

वीरगञ्जस्थित बसपार्क ट्रमिनलको भवनमा सम्पन्न बस व्यवसायी, वडा प्रहरी श्रीपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र स्थानीय बीच बसेको बैठकले प्रत्येक बस व्यवसायी समितिबाट एक/एक जना प्रतिनिधित्व गर्नगरी अनुगमन टोली बनाउने, वीरगञ्जबाट विभिन्न रुटमा सञ्चालित बसहरुले बसपार्क भित्रबाट मात्र यात्रु चढाउने र ओराल्ने काम गर्ने, बसबाट यात्रा गर्ने यात्रुहरु ठगिएमा चालक र सह–चालकलाई कानुन बमोजिम कारवाही गर्ने, त्यसको आर्थिक दायित्व सम्बन्धित सञ्चालक समितिले व्यहोर्नुपर्ने र यात्रुहरुलाई तानातान गरी दु:खदिने बिचौलियाहरुलाई आवश्यक कानुनको दायरामा ल्याउने निर्णय गरेको ट्राफिक प्रहरी पर्साका प्रहरी निरीक्षक कमल राज पण्डितले बताए ।

पण्डितले बसपार्क क्षेत्रलाई थप व्यवस्थित बनाउँदै यातायात सेवालाई झन् गुणात्मक र प्रभावकारी बनाउन छलफलले निष्कर्ष निकालेको जानकारी दिए ।

करोडौँको लागतमा निर्मित संरचनालाई उपयोगबिहिन बनाएर बिचौलियाहरुले यात्रुहरुलाई दिरहेको दु:खबाट सबैले छुट्कार पाउने उनले बिश्वास व्यक्त गरे । पण्डितले सबै यातायात व्यवसायीहरुले मिलेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको जानकरी दिए ।

बैठकमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह, बसपार्क प्रहरी चौकीका प्रहरी नायव निरीक्षक उपेन्द्र यादव, पृथ्वी राजमार्गका बस संचालक संयोजक सुमन श्रेष्ठ, बस व्यवसायी जगत प्रसाद साह कानु, बस व्यवसायी विनोद मानन्धर, बस व्यवसायी लक्ष्मण थापा, संचारकर्मी केसि लामीछाने लगायतको पनि उपस्थिति रहेको थियो ।

Back to top