वीरगञ्ज २२ असोज । राजश्व छली गरेर भारतबाट नेपाल भित्र्याउन खोजिरहेको चार वटा चौपायासहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले सुवर्ण गाउँपालिकाको वडा नम्बर ७ स्थित सडकखण्डमा भारतबाट अवैध तरिकारले राजश्व छली गरेर नेपाल भित्र्याउन खोजिरहेको अवस्थामा चौपायासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षीय भैयाराम कुर्मी रहेका छन् ।
कुर्मी आफैले चलाएको ना ४ च ४२८ नम्बरको पिकअपबाट प्रहरीले तीन वटा भैंसी र एउटा पाडो नियन्त्रण लिएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । नियन्त्रणमा लिइएका चौपायाको अन्दाजी मुल्य एक लाख २६ हजार रहेको प्रहरीको अनुमान छ ।
नियन्त्रणमा लिइएका चार चौपाया र आठ लाख बराबरको पिकअपसहित कुर्मी समेतलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रवक्ता मिश्रले बताए ।