×

वीरगञ्ज २१ असोज । स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार लगायतका मागहरु राख्दै १९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि वीरगञ्जमा प्रदर्शन गरिएको छ ।

पर्साको बौद्धिक वर्ग, स्वास्थ्यकर्मी, अधिकारकर्मी र विभिन्न सामाजिक संघ र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले बुधबार वीरगञ्जस्थति घण्टाघर चोकमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीले उठाएका सम्पूर्ण मुद्दाहरुलाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनमा सहभागी जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।

उनले आम गरिब जनताका छोराछोरी पनि डाक्टर बन्न सकुन्, उपत्यका बाहिर पनि सरकारी मेडिकल कलेज खुलोस् भन्ने विभिन्न मुद्दाहरुलाई लिएर डाक्टर केसी अनशनमा रहेकोले यसमा सबै सरोकारवाला निकायको एक्यबद्धता आवश्यक रहेको बताए ।

प्रदर्शनमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, चिकित्सक डा. उदय नारायण सिंह, जसपाकी नेतृ मोनिका सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, शिवनाथ यादव, प्राध्यापक डा. प्रमोद कुश्वाह, युवा अभियन्ता ज्योति साहलगायतको सहभागिता रहेको थियो ।

Back to top