×

वीरगञ्ज २१ असोज । निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने रञ्जन निर्माण सेवाको बदमासीका कारण पर्सावासीलाई सास्ती खेप्नु परेको छ ।

वीरगञ्ज-ठोरी सडकखण्ड अन्तर्गत पर्ने जिराभावानी गाउँपालिका वडा नम्बर २ सेढवाको सडक निर्माणको काम रञ्जन निर्माण सेवाले समयमा नसक्दा यात्रुहरुलाई सास्ती खेप्नु परेको हो ।

रञ्जनले सडक निर्माणको जिम्मा लिएर असारमा माटो मात्र खसाएर काम अगाडी नबढाएपछि वर्षा हुँदा सडक हिलाम्य हुने गरेको छ । सडक हिलाम्य हुँदा यात्रुहरु सवारीसाधन प्रयोगदेखि पैदलसमेत हिड्न गाह्रो हने गरेको छ ।

पर्सामा सोमबार दिउँसो एक छिन परेको वर्षाका कारण पुरै सडक हिलाम्य भएको थियो । सडकमा हिलो जमेको कारण बाटो प्रयोग गरेर दैनिक गुड्ने बस, ट्याक्टर, ट्रक, एम्बुलेन्स, साइकल, मोटरसाइकललगायतका सवारीसाधन गुड्न पाएनन् ।

सडक अवरुद्ध हुँदा यात्रुहरु लामो दुरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका थिए । सञ्चालन हुन नसकेपछि गाउँपालिकाले आफ्नो स्रोत साधन प्रयोग गरेर सडक मर्मत सम्भार गरेको थियो । मर्मत सम्भारपछि सडक पुन: सञ्चालनमा आएको स्थानीयले बताए ।

सरोकारवाला निकायहरुले पटक-पटक ताकेता गरेपनि ठेकेदार कम्पनीले असोजको आधाभन्दा बढी अवधि बित्दा समेत निर्माण का सुरु गरेको छैन ।

Back to top