वीरगञ्ज १९ असोज । कृषि ज्ञान केन्द्रको लापरवाहीका कारण कृषकहरुको लागि आएको दश करोड भन्दापनि बढी रकम फ्रिज भएको बताउँदै स्थानीय आन्दोलित भएका छन् ।
कृषि ज्ञान केन्द्र पर्साका कर्मचारीहरुको लापरवाही र भ्रष्ट नीतिका कारण जिल्लाका कृषकहरुले नेपाल सरकारले उपलब्ध गराएको अनुदान, राहतलगयातका सुविधाहरु नपाएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।
आन्दोलनरत कृषकहरुले सोमबार ज्ञान केन्द्रको मूलद्वारा अगाडी धर्ना दिएका थिए । स्थानीय नेता तथा अगुवाहरु समेतको सहभागितामा भएको धर्नामा ज्ञान केन्द्रका प्रमुख डाक्टर रामचन्द्र यादवले बताएको रकम फ्रिज हुने कारणहरु चित्बुझ्दो नभएको बताउँदै उनलाई कारवाहीको माग समेत गरेका छन् ।
कृषकहरुले ज्ञान केन्द्रका कर्मचारीहरुको गुठबन्दि, अदुरदर्शी तथा भ्रष्ट नीतिका कारण प्रय्तेक वर्ष कृषकहरुको लागि आउने करोडौँ रकम फ्रिज हुने गरेको बताए ।
उनीहरुले ज्ञान केन्द्रका कर्मचारीहरु विरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए ।
जनता समाजवादी पार्टीका नेताहरुको अगुवाईमा भएको कार्यक्रममा पार्टीसँग आबद्ध विभिन्न नेताहरुको समेत सहभागिता रहेको थियो ।