×

वीरगञ्ज १९ असोज । बारा प्रहरीले अवैध घरेलु मदिरासहित दुई युवकलाई पक्राउ गरेको छ ।

चोरी पैठारी गरी अवैध तरिकाले मदिरा तस्करी गर्न खोजिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय जीतपुरले आइतबार ट्रकसहित दुई जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी र वडा नम्बर १४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन् ।

हेटौंडाबाट वीरगञ्जतर्फ ना ६ ख ५४०४ नम्बरको ट्रकमा आउँदै गरेको अवस्थामा शंका लागेर चेक जाँच गर्ने क्रममा ट्रकभित्र लुकाएर राखेको एक हजार लिटर अवैध घरेलु मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बरामद मदिरा र ट्रक सहित निजहरूलाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय सिमरा, बारामा पठाइएको प्रहरीले बताएको छ ।

उनीहरुसँग १ लाख ५५ हजार रुपैयाँ धरौटी माग भएको प्रहरीले जानकारी दियो ।

Back to top