वीरगञ्ज ४ असोज । वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिकामा पर्ने सडकको काम गुणस्तरहीन भएको स्थानीयले गुनासो गरेका छन् । ठेकदार कम्पनिले कालोपत्रे गर्दा लापरवाही गरेको स्थानीयले गुनासो गरेका हुन् ।
सडक निर्माणको ठेक्का सकारेको बानियाँ निर्माण सेवा कम्पनिले कालोपत्रे गर्ने क्रममा लापरवाही गरेको स्थानीयहरुले बताएका छन् ।
यस अघिपनि वडा ४ को मिलचोकमा पहिलो चरणको कालोपत्रे गर्दा लापरवाही गरेको सडकको मोटाई कम गरेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
स्थानीयको विरोधपछी ठेकेदार कम्पनीले दोस्रो चरणको कालोपत्रे गर्दा सडकको मोटाई बढाउँने प्रतिब्द्धता जनाएको थियो । तर, हिजोदेखि सुरु भएको दोस्रो तथा अन्तिम कालोपत्रे गर्न काममा लेयर बिच्छ्याउने क्रममा समेत ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
सडकमा अन्तिम कालोपत्रे गर्दा समेत पानी जम्ने खाल्डाखुल्डी रहेको भन्दै स्थानीयले विरोध गरेपछी ठेकेदार कम्पनीका प्राविधिकहरुले समेत गल्ती स्वीकारेको स्थानीयले बताए ।
स्थानीयको विरोधपछी सडकको स्तर परीक्षण गर्ने र इन्जिनियर नआउन्जेलसम्मका सडकको कालोपत्रे गर्ने काम रोकिएको थियो ।
स्थानीयले सडकमा कालोपत्रे गर्दा गुणस्तरीय हुनुपर्ने माग गरेपछी सडकको अवस्था परीक्षण गर्न ठेकेदारले इन्जिनियरसंग परामर्श गरेर मात्र काम अघि बढाउन सहमत भएको स्थानीयले बताए ।