×

वीरगञ्ज ३ असोज । संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारमा रहेका १५ जान कैदीको सजाय मिनाहा भएको छ ।

दिवसको अवसरमा देशभरका जेलबाट २ सय ८९ जना कैदीलाई बाँकी सजाय माफी मिनाहा गरेर जेलमुक्त गर्ने निर्णय भएसँगै वीरगञ्ज कारागारका १५ जना कैदीपनि रिहा भएका हुन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसअनुसार शनिवार (३ असोज) देखि लागु हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन । सोहि निर्णय अनुरुप वीरगञ्जका १५ जना कैदीपनि रिहा भएको वीरगञ्ज कारागार प्रमुख श्रवन पोखरेलले बताए ।

सजाय मिनाहा भएर आज रिहा हुने कैदीहरुमा एक जना कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेकी महिलापनि छन् ।

त्यसैगरी सवारी ज्यान मुद्दामा सजाय काटिरहेका २ जना, कर्तव्य ज्यान मुद्दाका ३ जना, किर्ते मुद्दाका ३ जना, वन पैदावार मुद्दाका १ जना, नकवजनी चोरी मुद्दाका ३ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, डाँका चोरी मुद्दाका १ जना र सरकारी छाप दस्तखत किर्ते मुद्धाका १ जना गरी जम्मा १५ जनाको सजाय माफी भई आज कैदमुक्त हुन लागेको पोखरेलले जानकारी दिए ।

कैद कट्टी भएर रिहा हुने सबै कैदीहरुलाई बधाईसहित पारिवारिक पुनर्मिलन र सामाजिकिकरणको प्रकृयामा सफलता मिलोस भन्ने शुभकामना समेत जेलर पोखरेलले दिएका छन् ।

वीरगञ्ज कारागारसहित आज प्रदेश २ बाट कुल ३७ जना कैदी कैदमुक्त रिहा हुन लागेका छन् ।

Back to top