×

बारा । समाजसेवी सन्तोष सर्राफले बाराको कलैयास्थित नेपालकै पहिलो ९० वर्ष पुरानो श्री सिद्धेश्वर संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा खाद्य सामग्री सहयोग गरेका छन्।

वीरगञ्जस्थित माईस्थान चोकमा रहेको सन्तोषजी बिजुली पसलका सञ्चालक सर्राफले विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि ५० थान बैग, कापी, कलम तथा तीन कार्टुन बिस्कुट सहयोग गरेका हुन्।

सहयोग कार्यक्रममा बोल्दै सर्राफले समाजप्रति आफ्नो दायित्व पूरा गर्ने उद्देश्यले निरन्तर मानवीय सेवामा लागिरहेको बताए। उनले आफ्नो आम्दानीको केही अंश असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगमा खर्च गर्दै आएको उल्लेख गरे।

सर्राफले यसअघि पनि विभिन्न विद्यालयमा पुगेर गर्मी मौसममा छाता वितरण गर्ने, विपन्न परिवारलाई चामल, दाल, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने जस्ता सामाजिक कार्य गर्दै आएका छन्।

मानवताका भावनासहित गरिने सेवाबाट आत्मसन्तुष्टि प्राप्त हुने अनुभव सुनाउँदै उनले समाजका अन्य व्यक्तिलाई पनि आफ्नो क्षमता अनुसार सामाजिक सेवामा सहभागी हुन आग्रह गरेका छन्।

विद्यालय प्रशासनले सर्राफको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीको अध्ययनमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

Back to top