×

वीरगञ्ज १२ भदौं । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोनाभाइरस अर्थात कोभिड-१९ सम्बन्धि त्रुटीपूर्ण र अधुरो विवरण सार्वजनिक गर्दा अन्योल सृजना भएको छ ।

प्रत्येक दिन साँझ जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो आधिकारिक फेसबुक आइडी मार्फत उपलब्ध गराउँदै आएको कोभिड-१९ सम्बन्धित अद्यावधिक विवरणमा त्रुटी गर्दा अन्योल सृजना भएको हो ।

प्रशासनले भदौं १२ गते शुक्रबार साँझा फेसबुकबाट उपलब्ध गराएको कोभिड-१९ सम्बन्धित अद्यावधिक विवरणमा त्रुटी भेटिएको छ । भदौं १२ गतेको सूचनामा कोरोनाभाइरस सङ्क्रमणका कारण पर्सामा मृत्यु हुनेको संख्या भदौं ११ गते अर्थात बिहिबारको भन्दा २ वटा कम उल्लेख गरिएको छ ।

प्रशासनले बिहिबार सार्वजनिक गरेको सूचनामा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३३ बताइएको थियो भने शुक्रबार आजको सूचनामा मृत्यु हुनेको संख्या घटाएर ३१ उल्लेख गरिएको छ । सूचना त्रुटीपूर्ण हुँदा कयौंले सामाजिक सञ्जालमा अन्योलता प्रकट गरेका छन् भने कयौंले प्रशासनको मजाक समेत उडाएका छन् ।

पर्सामा पछिल्लो केहि दिनदेखि कोरोनाभाइरस सम्बन्धित अपडेट लिन सञ्चारकर्मीहरुलाई पनि निकै सकस भएको छ । नारायणी अस्पतालबाट सूचना प्राप्त गर्दै आएका पर्सेली सञ्चारकर्मीहरुलाई एकाएक जिल्ला प्रशासन कार्यालयको आदेशपछि सूचना दिन छाडीएपछि सञ्चारकर्मीलाई समाचार लेख्न केहि दिन अफ्ठ्यारो भएको थियो ।

सञ्चारकर्मीहरुले सूचना लुकाउँन नहुने भन्दै विभिन्न माध्यमबाट विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो फेसबुक आइडीबाट आंसिक सूचना उपलब्ध गराउँदै आएको छ । आंसिक सूचना उपलब्ध गराउँदा समेत कयौं पटक त्रुटिपूर्ण सूचना दिएको सञ्चारकर्मीहरुले गुनासो गर्ने गरेका छन् ।

सञ्चारकर्मीहरुले पहिला जस्तो नारायणी अस्पतालबाट नै सूचना उपलब्ध गराउँन माग गरेका छन् ।

 

Back to top