×

वीरगञ्ज १ भदौं । साउन १२ गते काठमाडौँमा हुने नगरपरिषदको बैठकमा सहभागी हुन म काठमाडौं आएँ। हल्का रुघाखोकी र ज्वरो आइरहेको थियो। १२ गते नै ज्वरो अत्यधिक बढेपछि कोरोना परीक्षण गराइयो। रिपोर्ट पोजेटिभ आयो।

वीरगञ्ज यसै पनि सीमा क्षेत्र। सुरुमा नै कोरोनाले वीरगञ्जलाई प्रभाव पार्‍यो। सबै कर्मचारीदेखि जनप्रतिनिधिसम्मले कोरोना नियन्त्रण तथा रोकथामका लागि महानगरमा भएका स्रोत–साधनले काम गर्दै थियौं। हामीले नै स्थानीय तहमा पहिलोपल्ट कोरोना अस्पताल बनायाै‌ं। अहिले पर्सा जिल्लामात्रै हैन, यससँग जोडिएका अन्य जिल्लाका बासिन्दासमेत यस अस्पतालबाट लाभान्वित भएका छन्।

म यहाँ काठमाडौँमा छु, तर मेरो मन वीरगञ्जमा छ। भदौँ १ गते फेरि परीक्षण हुँदैछ। अब पोजेटिभ आउँदैन भन्ने उच्च आत्मबल ममा छ। महानगरवासी मेरा नागरिकलाई म के भन्न चाहन्छु भने हाम्रो क्षेत्र अन्यत्रको तुलनामा संवेदनशील छ। खुल्ला सीमा छ। हामीसँग कसैको पनि ट्राभल हिस्ट्री छैन। महानगरले सकेको गरेको हो। केन्द्र र प्रदेश सरकारले आजसम्म केही सहयोग गरेको छैन। त्यसमाथि यो महामारीमा नागरिकको पनि उत्तिकै भूमिका हुन्छ। साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने र हुलमुलमा बस्ने गर्नुहुँदैन। म फेरि महानगरबासीलाई भन्न चाहन्छु भने–बिन्ती छ यी ३ काम गरौँ । हुलुमुलमा बाहिर ननिस्कौँ।

आज हामी निस्कियौं भने परिवार संक्रमित हुन्छ, छिमेकी संक्रमित हुन्छ। महानगरपालिकाले त उपचारगर्छ तर सकेसम्म संक्रमित नै हुन नदिन नागरिकले सावधानी अपनाउनै पर्छ। अहिलेको कोरोना लक्षणसहित देखिएको छ। यतिन्जेल वीरगञ्जमा कोरोना संक्रमितमा लक्षण देखिएको थिएन।

सबैलाई थाहा छ, वीरगञ्जका ३२ वटै वडा कोरोना संक्रमणबाट आक्रान्त छ। यसो हुनुको पछाडि केन्द्र सरकारको अकमण्र्यताले हो भन्न मलाई कुनै डर छैन। कम्तीमा राजस्व आउन बन्द भएको थिएन। सामानहरु आइरहेकै थियो। मानिस आउन त रोक्नुपथ्र्यो। अझै पनि सीमाबाट दैनिक एक हजार मान्छे आउछन्। जसले गर्दा वीरगञ्जमात्रै हैन अन्यत्र पनि समुदायस्तरमा कोरोना फैलियो। सुनेको छु गृहमन्त्री यसबारे गम्भीर हुनुहुन्छ। कृपया छिटै सीमा व्यवस्थित गर्नुपर्‍यो। अहिले देखिएका संक्रमित त १० प्रतिशत मात्रै हो, ९० प्रतिशत फैलन बाँकी छ। सीमालाई यसरी नै खुलेआम छाडिदिने हो भने भयावह स्थिति हुन सक्छ।

कोरोना फैलिन थालेपछि महानगरले ८ करोड बजेट खर्च गरिसकेको छ। वीरगञ्जमा एकै दिनमा एक हजार जनाको पिसीआर परीक्षण गर्न सकिन्छ। नागरिकको ज्युज्यान ठूलो कुरा हो, हामी परीक्षण गर्छौं। ‘एक घर एक परीक्षण’ गर्ने काम भइरहेको छ। ८ वटा वडामा यो काम भैसकेको छ। अन्यत्र वडामा पनि हुँदै जान्छ। कन्ट्याक्ट ट्रेसीङ पनि बढाउँदै लैजान्छौँ। महानगरले स्रोत र साधनले भ्याएसम्म कोरोना नियन्त्रणका लागि काम गर्छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कोहीमाथि पनि आक्रोशित हुनुहुँदैन। सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहनुभएको छ।

व्यापक परीक्षण गर्ने, स्रोत र साधनले भ्याएसम्म कोरोना नियन्त्रणका लागि महानगर चुक्दैन। यसका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ। फ्रन्टलाइनमा खटेर काम गरेकाहरुको मनोबल उच्च पार्नुपर्छ। आफ्ना आफ्न्तलाई कोरोना लाग्नबाट बँच्न के–के गर्ने, लागिसकेपछि के गर्ने भनेर जानेको कुरा बताउने हो। युवाहरुले यो काम गरुन्। यो विश्व महामारी हो । कुन पदमा छौं, कुन काममा छौँ भनेर त्यागेर काम गर्ने समय हो। त्यसैले केन्द्र, प्रदेश र स्थानीय तह मिलेर काम गर्‍यौं भने संक्रमितको संख्या कम गर्न सकिन्छ।

अन्य रोगका बिरामीलाई पनि उत्तिकै हेरविचार गर्नुपर्छ। यो स्थानीय तह एक्लैले गर्न सक्दैन। त्यसैले तीनवटै सरकारको समन्वयले कोरोना नियन्त्रणमा बल पुग्छ। सबै आ–आफ्नो क्षेत्रबाट लागौं ।

नेपाल लाइभ डटकमबाट साभार ।

Back to top