×

वीरगञ्ज २५ श्रावन । प्रदेश नं. २ कोरोना सेन्टरको इपि सेन्टर बनेको बेला प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी जनताको पिडामा मल्हम लगाउन काम छोडेर काठमाडौँ पुगेका छन् ।

घोषणा गर्ने र आश्वासन बाड्न माहिर मुखामन्त्री गद्दीले काठमाडौँबाट अर्को घोषणा गरेका छन् । मुख्यमन्त्रीले काठमाडौँमा संघ सरकारका केहि मन्त्रिहरुसँग भेटघाट गरेर प्रदेश नं. २ मा कोरोना सङ्क्रमण रोकथामका लागि विशेष प्याकेजको घोषणा गर्ने माग गरेका छन् ।

प्रयाप्त साधन र स्रोत हुँदाहुँदै समेत कुनै प्रभावकारी काम गर्न नसकेका मुख्यमन्त्री लालबाबु राउत प्रदेश नं. २ का जनता बीच निकै अलोक्प्रिया बन्दै गएपछि यस्तो गरेका हुन् ।

प्रदेशका अस्पतालहरुकालागि कोरोना सङ्क्रमितहरुको उपचारमा अतिआश्यक पर्ने एउटा भेन्टिलेटर समेत किन्न नसकेका मुख्यमन्त्री राउतलाई घोषणा गर्ने र अरुमाथि आरोप लगाउने मुख्यमन्त्रीका रुपमा नेपालभरि चिनिन थालिएको छ ।

कोरोना कालमा कुनै काम नगरेको आरोप लगाउँदै वीरगञ्जका स्थानीय युवाहरुले सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामा समेत माग गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहितको टोलीले आज उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री राउत सहितको टोलीले प्रदेश नं. २ अहिलेको अवस्थामा अति प्रभावित भएकोले तत्काल विशेष प्याकेज ल्याउन आग्रह गरेको छ । त्यसैगरी, मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्त रुपले काम गर्नुपर्ने तथा सिमा क्षेत्रमा थप कडाई गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्नेप्रति चासो राखेको थियो ।

छलफलका क्रममा उपप्रधानमन्त्री पोखरेलले वीरगञ्जको नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५०० वेडको आइसोलेसन वार्ड तुरन्त व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने सुनिश्चित गराउनु भएको छ ।

उक्त क्रममा तत्काल ५० हजार भिटिएम रिएजेन्टको उपलब्धता तथा पिसिआर परिक्षणका लागि दुई वटा आर एन ए मेसिन उपलब्ध गराउने बारे समेत छलफल भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा रहेका गम्भिर विरामीलाई तत्काल काठमाडौं ल्याउने गरी हेलिकप्टर स्टाण्डबाई राख्न तथा प्रदेश नं. २ मा कोरोना उपचार सम्बन्धमा कुनै कमि हुन नदिन माग समेत गर्नु भएको छ ।

प्रदेश नं. २ मा चिकित्सकहरुको विशेषज्ञ टोली तत्काल पठाउनुपर्ने तथा सबै निजी अस्पतालहरुमा कम्तिमा २० प्रतिशत आइसोलेसन वेड उपलब्ध गराउन समेत ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी, नारायणी अस्पताललाई सामान्य अस्पतालको रुपमा राख्ने तथा विरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने नीजि अस्पताललाई कारवाही गर्ने विषयमा समेत सहमति जुटेको छ ।

Back to top