×

वीरगञ्ज २५ श्रावन । नारायणी अस्पतालमा कार्यरत चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्याय समक्ष आइतबार एउटा सामूहिक निवेदन दिँदै अस्पतालमा कार्यरत चिक्तिसक र अन्य स्वास्थ्यकर्मीले सेवा बन्द गर्ने चेतावनी दिँदै २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

अहिलेको अवस्थामा काम गर्न असहज भएको भन्दै २४ घण्टा भित्र आवश्यक दक्ष जनशक्ति र स्रोत साधनको व्यवस्थापन गर्ने माग गर्दै अस्पतालमा कार्यरत २ सय ५० भन्दापनि बढी कर्मचारीहरुले मेसु डा. उपाध्यायलाई आज निवेदन दिएका थिए ।

आवश्यक जनशक्ति, श्रोत सादन र उचित जोखिम भत्ता जस्ता कुराका बारेमा संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय प्रशासनलगायत अन्य सरोकारवाला निकायहरुसँग पटक-पटक पहल गर्दापनि कुनै सुनुवाई नभएको चिकित्सकहरुले आरोप लगाएका छन् ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक एवम् संघका महासचिव डा. उदय नारायण सिंहले महिनौंदेखि सबै सरोकारवाला निकाय, प्रशासन र तिनै तहका सकरारसँग विभीन्न समयमा पहल गर्दापनि कुनै चासो नदेखाएको कारण आफूहरु अन्तिम समयमा आत्मसमर्पण गर्दै सेवा बन्द गर्ने स्थितिमा पुगेको बताए । उनले अस्पतालका मेसु मार्फत आफुहरुले २४ घण्टाको अलित्मेतम दिएको बताए । ‘सोमवार दिउँसो १ बजेसम्म आवश्यक तयारीको लागि २४ घण्टे अल्टिमेटम दिएका छौं, हाम्रो मागको सुनुवाई नभए विवस भएर सम्पूर्ण सेवा ठप्प गर्ने छौं ।’

आइतबार बिहान उचित उपचारको माग गर्दै स्थानीयहरुले नारायणी अस्पताल अगाडी प्रदर्शन गर्दा नारायणी अस्पतालमा तोडफोड गरेका थिए । प्रदर्शनकारीहरुले चलाएको ढुङ्गा लाग्दा डा. उदय नारायण सिंहको निजि गाडीमा समेत क्षति पुगेको थियो ।

विगत ४ दिनमा तिनजना व्यक्तिले निजि र सरकारी अस्पतालको लापरवाहीका कारण ज्यान गुमाएको भन्दै स्थानीयहरु आन्दोलित भएका थिए ।

Back to top