×

वीरगञ्ज २५ श्रावन । समुदायमा सङ्क्रमण फैलिएसँगै गत साउन १९ गतेबाट पर्सामा निषेधज्ञा जारी छ । अत्यावश्यक बाहेकका सबै सेवाहरू ठप्प छन् । सर्वसाधारणलाइ घरबाट बाहिर निस्कन दिइएकाे छैन भने भेला गर्न पनि मनाही छ । त्यस्तै सिमानाका पनि बन्द नै राखिएकाे छ ।

तर, यी सबका बावजुद पनि पर्सामा तस्करी राेक्न सकिएकाे छैन । प्रशासनले सिमानाकामा प्रहरीकाे उच्च पहराका बिच कडाइ गरेकाे बताएपनि तस्करी न्युन हुन सकेकाे छैन ।

तस्कर समूहले भारतीय बजार इनर्वाबाट जानकीटोला, दशौता, भिखमपुर हुँदै पटेर्वा सुगौलीको मनिहर्वा भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीका कपडा बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा गएको प्रहरीको टोलीले पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वाबाट दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र एउटा नेपाली नम्बर प्लेटको मोटरसाइकलसहित ५५ थान साडी, ७१ थान सुरुवाल, २० थान सल, १९ थान रेडिमेन्ट सुट बरामद गरेको छ ।

तस्करीको समूहले प्रयोग गरेका ना १३ प १०८३, बीआर २२ वाई ११४२ र बीआर २२ एक्स ०६९१ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीको गस्ती टोलीलाई देखेपछि कपडा तस्करीमा संलग्न व्यक्तिहरु भने मोटरसाइकलसहित कपडा छाडेर भागेको प्रहरीको भनाइ छ ।

Back to top