वीरगञ्ज २५ श्रावन । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा एक कोरोना शंकास्पद बिरामीको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ५ का ५५ वर्षिय वृद्धको मृत्यु भएको हो । यसअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज पुर्याइएको थियो ।
मेडिकल कलेजले कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले कोरोना विशेष अस्पतालमा लैजान भन्दै रिफर गरिदिएपछि बीरामीका आफन्तले नारायणी अस्पताल लगेका थिए । शुक्रबार राति उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको वृद्धको शनिबार मृत्यु भएको हो ।
वृद्धामा श्वासप्रश्वासमा समस्या देखिएको र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने अवस्था देखिएको भएपनि नारायणी अस्पतालमा भेन्टिलेटर नहुँदा बिरामीको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
शनिबार दिउँसो बिरामीको मृत्यु भइसक्दा समेत अस्पताल प्रशासनले प्रहरीलाई खबर नगरेपछि केही बेर विवाद समेत भएको स्रोतको दावी छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब लिइएको र आजै रिपोर्ट आउने अस्पतालले जनाएको छ ।