वीरगञ्ज २४ श्रावन । वीरगञ्ज कारागारका जेलरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई शनिबार साँझ श्वाशप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।
तिन दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका जेलर श्रवनकुमार पोखरेल कारागारमै स्थापन गरिएको आइसोलेसनमा बस्दै आएका थिए ।
शनिबार साँझ उनको स्वास्थयमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको छ ।
हेल्थ केयरमा उनको भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पोखरेललाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको डा. सिंहले बताए । तीन दिन अघि पोखरेलले आफूमा कुनै पनि लक्षण नरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमै संक्रमणको पुष्टि भएको जनाएका थिए ।
कारागारका कैदी बन्दीमा संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्दा पोखरेलमा पनि संक्रमण पुष्टि भएको थियो ।