वीरगञ्ज २४ श्रावन । वीरगञ्जमा उपचार नगर्ने अस्पताललाई कारबाही गर्न वीरगंज युवा समाजले माग गरेको छ । निजी अस्पतालले उपचार नगर्दा सर्वसाधारण नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आएको भन्दै समाजले यस्तो माग गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनलाई अवज्ञा गर्दै केही निजी अस्पतालले बिरामीको उपचार नगर्दा शनिबार मात्रै २ जनाले ज्यान गुमाएका छन् ।
वैश्विक महामारिका बेला निजी अस्पतालले पनि दायित्व बहन गर्दै कोभिड बाहेकका बिरामीको उपचार गर्नु पर्नेमा कोभिडसँग मिल्ने सामान्य लक्षण देखिएकै भरमा अस्पताल भर्ना नगर्नु दुखदायि रहेको भन्दै जिम्मेवारी बहन गर्न पनि समाजले आग्रह गरेको छ ।
समाजका अध्यक्ष कमल चौगाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा यही अवस्था दोहोरिरहे सडक आन्दोलनमा उत्रिन सबै वीरगञ्जबासीलाई आग्रह गरिएको छ ।
कोभिड बाहेकका बिरामीले उपचार नपाई मर्न परिरहेको अहिलेको स्थितिमा बरु सडकमा उत्रिएर मर्न परे पनि पछि नपर्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
यस्तो छ विज्ञप्ति :
जिल्ला प्रशासन कार्यालय पर्साले दुई दिन अघि सूचना जारी गर्दै सबै निजी अस्पताललाई त्यहाँ पुगेका बिरामीको उपचार गराउन निर्देशन दियो ।
सामान्य रुघाखोकि लागेका बिरामीलाई पनि अस्पतालले भर्ना लिन नमानेको गुनासो आएको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत नै यस्तो निर्देशन दिन परेको थियो । तर जिल्ला प्रशासन कार्यालयको निर्देशन निजी अस्पताल सञ्चालकले नमानेको मात्रै नभई अटेर नै गरेका छन् ।
प्रशासनबाट निर्देशनात्मक सूचना जारी भएको दुई दिन नबित्दै वीरगंजमा रहेका निजी अस्पतालबाट उपचार नपाएर २ जना बिरामीले ज्यानै गुमाउनु परेको छ ।
यता सूचना टाँसेर निर्देशन दिने जिल्ला प्रशासन कार्यालय भने आँखामा पट्टी बाँधेर सुतेको छ । निर्देशन पालना भए नभएको उसलाई कुनै मतलब नै छैन ।
निजी अस्पताल सञ्चालकमा मानवियता हराएको छ । सामान्य अवस्थामा बिरामीसँग भएभरको पैसा असुल्ने तिनै निजी अस्पताल अहिले बिरामीलाई उपचार नै नगरी मर्ने अवस्थामा पुर्याइदिने गरेको छ ।
शनिबार अस्पतालको चक्कर काट्दा काट्दै दुई जनाले ज्यान गुमाए । घण्टौसम्म अस्पतालको चक्कर काट्दा काट्दै अस्पतालको गेटैमा कोभिड बाहेकका बिरामीले ज्यान गुमाउनु पर्ने बिडम्बना वीरगंजमा अहिले देखिन थालेको छ ।
निजी अस्पताल अहिलेको बेला झनै बढी उत्तरदायी भएर प्रस्तुत हुनु पर्ने थियो । तर उनीहरुमा मानवियता गुमेपछि बिरामीले अस्पताल प्रवेश नपाएर गेटमै ज्यान गुमाइरहनु परेको छ ।
निजी अस्पतालले बिरामीलाई उपचार नगर्नु भनेको बिरामीको ज्यान लिनु पनि हो । यसले अहिले कोरोनाका कारण ज्यान गुमाउने भन्दा सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था बढ्ने देखाएको छ ।
निजी अस्पतालको पनि दायित्व हो कि यो महामारीको बेला मिलेर सेवा प्रदान गर्ने । तर मिलेका बेला असुल गर्ने तिनै निजी अस्पताल अहिले जिम्मेवारीबाट पन्छिएर बिरामीको ज्यान लिने तहमा ओर्लिएको छ ।
त्यसैले सम्बन्धित निकायले तत्काल यस्ता अस्पतालको स्वीकृति खारेज गरेर कारबाही गर्न तर्फ हात कमाउनु हुँदैन । रोगले ज्यान लग्न सक्ला तर उपचार नै नपाएर ज्यान गुमाउने अवस्था आउनु हाम्रो सभ्य समाजका लागि राम्रो कुरा पक्कै होइन ।
वीरगंजमा रहेका निजी अस्पताल सञ्चालकहरु कहीँ न कहीँ राजनीतिक दलसँग आबद्ध छन् । कतिपय त राजनीतिमै होमिएकाहरु छन् । तर उनीहरुले अहिलेको यो विषम परिस्थितिमा पनि बिरामीको उपचार गर्ने भन्दा गेटबाटै छिर्न नदिने गरेका छन् ।
उनीहरुमा कुनै मानवियता र नैतिकता भन्ने कुरा नै देखिँदैन । अहिले पैसावालाले हेलिकप्टर नै मगाएर काठमाण्डौ पुगेका छन् तर पैसा नहुनेहरु यहीँका अस्पताल चहार्दा चहार्दै मृत्युबरण गर्न बाध्य हुनु परिरहेको छ । यस्तो बेला वीरगंका हामी सबै मिलेर लड्नु जरुरी छ । एक्ला एक्लै हिँड्न खोजे अवश्य दुर्घटना हुन्छ । त्यसैले अहिले लाशमा राजनीति होइन कि शास जगाउने आशमा राजनीति हुनु पर्छ । जनता नै नरहने हो भने पछि कसका लागि राजनीति गर्छौ ?
वीरगंज युवा समाज यही विज्ञप्ति मार्फत वीरगंजका सम्पूर्ण नागरिकमा आह्वान गर्न चाहन्छौँ कि यदी यस्तो घटनामा कुनै सुधार नआए सबै सडकमा उत्रिएर प्रतिरोध गरौँ । आखिर कोभिड बाहेकको बिरामीले उपचार नपाई मर्न परिरहेको छ भने सडकमा उत्रिएर मर्न परे पनि पछि नपरौँ ।