आशुकुमार सर्राफ/वीरगञ्ज २३ श्रवन । श्वासप्रश्वासमा समस्या भएपछि पर्साको पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव अस्पताल भर्ना भएका छन् ।
रुगाखोकी र ज्वरो आएपछि नगरप्रमुख यादव शुक्रबार दिउँसो वीरगञ्जस्थित तराई हस्पिटलमा भर्ना भएका हुन् । यादवलाई गम्भीर किसिमको निमोनियाको लक्षण देखिएको तराई अस्पतालका निर्देशक डा. रोशन कुर्मीले जानकारी दिए ।
'मेयर सा'ब अस्पताल आउँदा उहाँको अवस्था गम्भीर थियो, श्वासप्रश्वासमा समस्याका कारण अक्सिजन लेभल समेत कम भएको थियो,' डा. कुर्मीले भने, 'उनमा गम्भीर किसिमको निमोनिया देखिएको छ, अहिले अक्सिजन चढाएपछि उनको अवस्थामा केहि सुधार आएछ । तर, उहाँ अहिलेपनि अक्सिजन सपोर्टमा छन् । '
नगरप्रमुख यादवको अस्पतालमा निर्माण गरिएको छुट्टै आइसोलेसनमा राखेर उपचार चलिरहेको डा. कुर्मीले बताए । उनले निमोनिया भएका विरामीहरुको उपचार गर्नका लागि अस्पतालमा छुट्टै आइसोलेसन बनाएको बताए ।
नगरप्रमुख यादव केहि दिन अगाडी काठमाडौँ पुगेर आएपछि स्वइच्छाले गएर आफ्नो कोरोना परिक्षण गराएका थिए । बिहिबार परिक्षणको रिपोर्ट आउँदा उनमा कोरोना नदेखिएको उनका स्वकीय सचिव आकाश साहले बताए ।
साहले नगरप्रमुख यादवको दोस्रो पटक पिसिआर परिक्षणका लागि आज स्वाब सङ्कलन गरिएको बताए । उनको रिपोर्ट अहिले आउन बाकि रहेको छ ।
यादवको अवस्थामा भोलिसम्म सुधार नआए उनलाई काठमाडौँ लगेर उपचार गराउने परिवारजनको तयारि रहेको साहले जानकारी दिए ।