वीरगञ्ज २३ श्रवन । संघ सरकार र विशेषगरी मुख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्वको प्रदेश सरकारले आश्वासन मात्र बाँडिरहँदा सामाजिक संस्था सानो पाइलाको पहलमा वीरगञ्जस्थित नारायणी अस्पतालमा थप दुई भेन्टिलेटर जडान हुने भएको छ ।
प्रदेश सरकारले विगत ४ महिनादेखि घोषणामाथि घोषणा मात्र गरिरहेको बेला वीरगञ्जस्थित सामाजिक संस्था सानो पाइलाले प्रदेश सरकार भन्दा छिटो काम गरेर देखाएको हो ।
लालबाबु राउत गद्दी नेतृत्वको प्रदेश सरकारले कोरोना महामारी सुरु भएसँगै प्रदेशका हरेक जिल्लामा रहेको सरकार अस्पतालमा आवश्यकता अनुसार भेन्टिलेटर किन्ने घोषणा गरेको थियो । तर, अहिले ४ महिना भन्दा बढी समय विति सक्दा समेत लालबाबु गद्दी नेतृत्व सकरारले भेन्टिलेटर खरिदका लागि उचित प्रकृया समेत सुरु नगरेको स्रोतले बताएको छ ।
प्रदेशका जिल्लाहरु घुमी घुमी घोषणा मात्र गर्न माहिर मुख्यमन्त्री लालबाबु राउत गद्दी पटका-पटक झुटा सावित भएका छन् । पद सम्भालेदेखि नै विभिन्न विवादमा समेत फस्दै आएका मुख्यमन्त्री गद्दीले कोरोना महामारीको समयमा समेत कुनै काम गर्न सकेका छैनन् ।
यता, गैर नाफामुलक संस्था सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिसेससँगको सहकार्यमा दुई थान भेन्टिलेटर नारायणी अस्पतालमा जडान गर्ने सहमती भएको जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले भेन्टिलेटर प्राप्त गर्ने प्रक्रिया पुरा भईसकेको र शनिबारसम्म अस्पताललाई हस्तान्तरण गरिसक्ने प्रमुख जानकारी दिए ।
नारायणी अस्पतालमा हाल ३ वटा भेन्टिलेटर चालु अवस्थामा छ । सानो पाइलाको पहलमा २ थान भेन्टिलेटर थप भएसँगै नारायणीमा जम्मा भेन्टिलेटरको संख्या ५ हुनेछ ।
प्रमुख झाका अनुसार समुदायमा संक्रमण फैलिएसँगै संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको र कुनै पनि बेला अवस्था थप विकाराल हुन सक्ने भएका कारण पुर्वतयारी गर्नु आवश्यक छ ।
त्यस्तै वीरगञ्जस्थित कलवार धर्मशालामा अंग्रपंक्तिमा खटिनेहरुका लागि व्यवस्थापन गरिएको आईसोलेसनमा हालसम्म २० जना रहेको र सबैको अवस्था सामान्य रहेको संस्थाले जनाएको छ ।