वीरगञ्ज २३ श्रवन । वीरगञ्जमा कोभिड– १९ को संक्रमण समुदायमा फैलिइसकेको आधार देखा परेका छन् । संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । कोरोनाको त्रासका कारण यससित लक्षण मिल्दाजुल्दा अन्य स्वास्थ्य समस्या भएका बिरामीले उपचार नै नपाउने अवस्था आएको छ । निजी अस्पतालले कोरोनासित लक्षण मिल्ने शंकास्पद बिरामी भर्ना लिन मानिरहेका छैनन् ।
स्थानीय प्रशासनले त्यस्ता बिरामीको उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ । तर त्यसका लागि आवश्यक सहजीकरणको अभाव छ । शंकास्पद बिरामीको पीसीआर परीक्षणको रिपोर्ट चाँडै दिने व्यवस्था मिलाउन सकेमात्र यो सहज हुन सक्दछ ।
कुनै अस्पतालमा गएको बिरामीलाई कोरोनाको आशंका छ भने फास्ट ट्रयाकबाट पीसीआर रिपोर्ट दिने व्यवस्था मिलाउनु पर्दछ । वीरगञ्जको नारायणी अस्पतालले अहिले २ घण्टामै रिपोर्ट दिन सक्दछ । शंकास्पद बिरामीलाई संक्रमण देखिएमा कोरोना अस्पतालमा लैजाने र नभएमा अन्य अस्पतालमा उपचार गर्ने हो भने उपचारै नपाएर बिरामीको ज्यान जाने अवस्थाले निकास पाउन सक्दछ ।
पछिल्लो एक हप्तामा स्क्रब टाइफसका ८/१० जना बिरामी आए । स्क्रब टाइफसका लक्षण कारोनासित मिल्ने भएकाले अस्पतालहरू पनि उपचार गर्न डराइरहेका छन् । यसका ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, निमोनिया र अक्सिजनको मात्रा कम हुनेजस्ता लक्षण कोभिडसँग मिल्छन् । यस्तो लक्षण लिएर आएका बिरामीलाई कोरोनाको आशंकामा अन्य अस्पतालले भर्ना लिन मान्दैनन् । कोरोनाको संक्रमण समुदायमा गइसकेकोले यो आशंका पनि स्वाभाविकै हो ।
निजी अस्तालले भर्ना लिन किन मान्दैनन् ? कुनै निजी अस्पताल वा क्लिनिकले यस्ता बिरामी हेर्यो र पीसीआर रिपोर्ट पोजेटिभ आयो भने अस्पताल नै सिल गरिन्छ । अहिले यस्तै समस्याका कारण वीरगञ्जका ५ ओटा अस्पताल सिल गरिएका छन् ।
अस्पताल सील गर्नु समस्याको सही समाधान होइन । संक्रमित जसले हेरेको हो उसैलाईमात्र क्वारेन्टिनमा राख्ने र अस्पताललाई सेनिटाइज गरेर चलाउन सकिन्छ । अस्पताल नै सिल गर्दा अन्य बिरामीले उपचार नपाउने अवस्था आइरहेको छ । अस्पतालमा कोरोनाको संक्रमित छिराएकै कारण सिल गर्नु पनि कोभिडसँग लक्षण मिल्ने अन्य बिरामीले उपचार नपाउनुको कारण हो ।
अर्को समस्या, मानिसहरु शुरूमा समस्या लुकाउने र सिकिस्त भएपछिमात्रै अस्पतालमा आउने गरेका छन् । यसले समस्यालाई झन् जटिल बनाइरहेको छ । अस्पतालमा जाँदा कोरोना पोजेटिभ आएमा आईसोशनमा जानुपर्ने र संक्रमितको रुपमा पहिचान सार्वजनिक हुने डरले संक्रमण लुकाइरहेका छन् । यसले अवस्थालाई झन् जटिल बनाउँदै लगेको छ ।
अहिले वीरगञ्जका प्रत्येक अस्पतालमा दिनहुँ निमोनियाका ४/ ५ जना बिरामी आइरहेका छन् । ती सबैमा कोरोना संक्रमण नभएको पनि हुन सक्दछ । अन्य कारणले पनि निमोनिया हुन्छ । कोभिड संक्रमण पुष्टि हुने डरले रोग लुकाएर सिकिस्त भएपछि आउनाले अवस्था भित्रभित्रै बिग्रिइसकेको छ ।
कोरोनाको शंका लागेमा तुरुन्तै जचाउनु पर्दछ । संक्रमण पत्ता लाग्यो भने कम्तीमा आफूबाट अरूमा सर्ने सम्भावनालाई त घटाउन सकिन्छ । यो एउटा स्वास्थ्य समस्या हो, जो जोसुकैलाई पनि लाग्न सक्दछ । समयमै संक्रमण पहिचान भएर चिकित्सकको परामर्शमा उपचार भयो भने निको हुने सम्भावना नै बढी हुन्छ । तर, सिकिस्त भएपछि आउनाले जोखिम बढाउने काम भइरहेको छ ।
अहिले वीरगञ्जका ३ ओटा अस्पतालमा कोरोनाको उपचार भइरहेको छ । तर, ती अस्पतालले पीसीआर रिपोर्ट पोजेटिभ आएका बिरामीलाई मात्र भर्ना लिन्छन् । शंकास्पद बिरामीलाई अन्य अस्पतालले पनि लिन मान्दैनन् ।
कोरोना अस्पतालमा पुगेका बिरामीको स्वाब लिएर फास्ट ट्रयाकबाट रिपोर्ट निकालेर कोरोना नभए अन्य अस्पतालमा पठाउने हो भने उपचार नपाएर बिरामी मर्ने अवस्था आउँदैन । अर्को, कोरोना अस्पतालमा अहिलेसम्म बिरामीको रक्तनलीमा रगत जमेको पत्ता लगाउन डी–डाइमर परीक्षण हुन सकेको छैन ।
वीरगञ्जको गण्डक कोरोना अस्पतालको भेन्टिलेटरमा राखिएका कोरोनाका कुनै पनि बिरामी निको भएका छैनन् । यसले त्यहाँ प्रयोग गरिएका भेन्टिलेटरमै समस्या छ कि भन्ने आशंका स्वाभाविक छ । विज्ञहरूबाट यसको जाँच आवश्यक छ । साथै, कोरोनाको उपचारमा प्रभावकारी मानिएका औषधीहरूको आयातमा सरकारले पर्याप्त र छिटोछरितो सहजीकरण गर्नुपर्दछ । अभियान दैनिकबाट साभार ।