वीरगञ्ज २२ श्रावन । कोरोनाभाइरस (कोभिड-१९) महामारीले एक पटक फेरी पर्सा जिल्ला र आसपासका क्षेत्रको अवस्था भयावह बनाएपछि अतिआवश्यक पर्ने एम्बुलेन्स सेवा अवरुद्ध भएको छ ।
कोरोना सङ्क्रमणको भयले एम्बुलेन्स चालकहरुले एम्बुलेन्स चलाउँन छोडेपछि विरामी र अतिआवश्यकमा रहेकाहरु मार्कामा परेका छन् । एम्बुलेन्स नपाएर अस्पताल पुग्न नसकेका विरामीहरुलाई सेवा उपलब्ध गराउँन ग्रिन सिटि सामुदायिक सेवा केन्द्रले एम्बुलेन्स सेवा सुरु गरेको छ ।
ग्रिन सिटि सामुदायिक सेवा केन्द्रले आम नागरिकको सेवाका लागि दुई वटा वातानुकूलित एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । केन्द्रका अध्यक्ष खेतानले दुई वटा वातानुकूलित एम्बुलेन्स नागरिकको सेवामा आफुहरुले स्टेन्डबाई राखेको जानकारी गराए ।
खेतानले एम्बुलेन्स सेवा उपयोग गर्न चाहने सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा सुरु गरिएको एककृत हेल्प डेस्कमा सम्पर्क गर्न सक्ने बताए । उनले एम्बुलेन्सका लागि सेवाग्राहीले प्रहरी निरीक्षक सरोज प्रजापतिलाई ९८५१२८४८०३, प्रहरी निरीक्षक कमल राज पण्डितलाई ९८५५०७०७०१ र हेल्प डेस्कलाई ९८४४९८२७९० मा सम्पर्क गर्न सक्ने बताए ।