×

वीरगञ्ज ।  नेपाल–भारत सीमास्थित रक्सौल नाकाबाट वैध यात्रा कागजात र भिसा बिना नेपाल प्रवेश गर्ने प्रयास गरेकी एक युक्रेनी महिला भारतीय सुरक्षा निकायको नियन्त्रणमा परेकी छन् ।

भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लामा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले महिलालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उनी वैध कागजातबिना नेपालतर्फ आउन खोज्दै थिइन् ।

भारतीय गुप्तचर तथा सुरक्षा निकायहरूले महिलासँग विस्तृत सोधपुछ गरिरहेका छन् । उनी भारत कसरी आइन्, नेपाल जानुको उद्देश्य के थियो, र यस घटनामा अन्य कुनै व्यक्ति वा सञ्जालको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

सुरक्षा निकायका अनुसार सीमा क्षेत्रमा निगरानी कडा पारिएको छ र यस्ता गतिविधि नियन्त्रण गर्न थप सतर्कता अपनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Back to top