वीरगञ्ज १ श्रावन । पकाहामैनपुर गाउँपालिकाको चौथो गाउँसभाले नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७७/७८ को अर्थ विधेयक पारित गरेको छ।
पकाहामैनपुर गाउँपालिका वडा नं. ३ मा बुधवार शुरू भएको गाउँसभाको बहुमतले बुधबार नीति तथा कार्यक्रम र अर्थसम्बन्धी विधेयक पारित गरेको हो । गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तथा उपाध्यक्ष कुसुम देवीले अर्थसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।
गाउँसभाको बैठकबाट अनुमानित ३२ करोड ९ लाख ७८ हजार रुपैयाँ बराबरको आय/व्यय प्रस्तुत गरिएको र सो बजेटलाई बहुमतले पारित गरिएको थियो ।
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा गापा अध्यक्ष चौरसियाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, कृषि, महिला सशक्तीकरण र सामाजिक विकासका कामलाई गापाले प्राथमिकता दिएको उल्लेख गरे।
उनले गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ३५ वर्ष उमेर नाघेका अविवाहित तथा एकल महिलालाई जीवनयापनको लागि गापाले मासिक रु १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरे। उनले उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिने घोषणा गरे।
कोभिड–१९ रोकथामको लागि गापाले हालसम्म सञ्चालन गरेको कामलाई निरन्तरता दिने, कृषि क्षेत्रलाई अगाडि बढाउन व्यावसायिक तरकारीखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने, गापास्तरीय खेलकूद विकास समिति गठन गर्ने, सडकको स्तरोन्नति गर्ने, मुख्य सडक र बस्तीका सडकहरूमा बत्तीको व्यवस्था गर्नेलगायतका कार्यक्रमहरू प्रस्तुत गरेका थिए।